यसपालि 'महिनावारीका कुरा' मा हामीले रंगकर्मी एवं निर्देशकद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवासँग कुराकानी गरेका छौं। जीवन र लक्ष्मी श्रीमानश्रीमती हुन्। रंगमञ्चमा काम गर्ने क्रममै चिनजान भएका उनीहरूको ५ वर्षअघि बिहे भएको हो।
सानो छँदा जीवनलाई महिनावारी के हो भन्ने थाहा थिएन। उनले महिलाहरू हरेक महिना रजस्वला हुन्छन् भन्ने मात्र बुझेका थिए। यो बुझाइ पनि उनले कहीँ पढेर, सुनेर भएको होइन। घरमा आमा महिनावारी हुँदा चार-पाँच दिन खाना पकाउँदिन थिइन्। जीवनले यसैबाट महिलाहरू महिनावारी हुनेबारे थाहा पाएका थिए।
उनी भन्छन्, 'म सानै हुँदाको कुरा हो। आमा महिनावारी हुँदा मैले कि बुबाले खाना पकाउँथ्यौं। त्यति बेलाको परिस्थिति नै त्यस्तो थियो। छरछिमेकमा पनि दिदीबहिनी र आमा महिनावारी हुँदा घरका अरू सदस्यले खाना पकाउँथे।'
महिनावारी बारेको देख्दादेख्दा उनी यो सामान्य नै होला भन्ठान्थे। हुर्किने क्रममा बुझ्दै गएपछि नगर्दा हुने कुरा किन गरेको होला भन्ने लाग्न थाल्यो। पाँच वर्षअघि भने उनलाई महिनावारीको शारीरिक र वैज्ञानिक कारणबारे थाहा भयो।
'त्यसपछि त झनै महिनावारी एकदमै सामान्य र प्राकृतिक कुरा रहेछ भन्ने थाहा भयो,' उनले भने।
जीवनका अनुसार उनी घरायसी काम लक्ष्मीलाई मात्र थोपर्दैनन्। उनका बुबाले पनि आमालाई घरको काममा सहयोग गर्थे। त्यसैले घरको काम श्रीमान र श्रीमती दुवैले गर्नुपर्छ भन्ने बुझेको उनले बताए।
श्रीमती महिनावारी भएका बेला अझ बढी सहयोग गर्ने उनी बताउँछन्।
'महिनावारी भएको समयमा घरको कामले पनि समस्या दिन्छ,' जीवन भन्छन्, 'अरू बेला पनि घरको काममा सघाउँछु। महिनावारी भएका बेला अलिकति बढी ध्यान दिन्छु। उनलाई के खान मन लागिरहेको हुन्छ, आराम चाहिएको छ कि छैन भन्ने ख्याल राख्छु।'
लक्ष्मीलाई महिनावारीमा गाह्रो भए औषधि किनेर ल्याइहाल्ने उनले बताए।
'यस्तो अवस्थामा औषधि खानु उचित हो होइन भन्नेबारे मलाई धेरै थाहा छैन। तर श्रीमतीको दुखाइ हेरेर बस्न सकिँदैन,' उनले भने।
कतिपय घरमा श्रीमानले श्रीमतीलाई महिनावारी बार्नुपर्छ भन्ने लगायतका कुरा गरिरहेका हुन्छन्। जीवनले भने यी कुराहरू कहिल्यै नगरेको बताए।
'महिनावारी बार्नुपर्छ, यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन, मन्दिर जान हुँदैन भन्ने जस्ता कुरा कहिल्यै गरिनँ,' उनी भन्छन्, 'यस्तो कुराहरू मबाट हुँदैन पनि।'
लक्ष्मी जीवनका कुरामा सही थाप्छिन्। ११ वर्षको हुँदा पहिलोपटक महिनावारी भएकी उनले त्यो बेला पनि सामान्य मानेकी थिइन्। घरमा पहिल्यैदेखि नै उनी कुन बेलामा महिनावारी हुने हो भन्नेबारे कुरा चलिरहेको हुन्थ्यो।
'पहिलोपटक महिनावारी भएपछि मैले भाउजूलाई भनेकी थिएँ,' लक्ष्मीले भनिन्, 'मलाई त्यति बेला पाँच दिन लुकाइएको थियो। मलाई स्कुल जान भने दिनुभयो।'
लुकाएको समयमा आमाले दाइलाई भेट्न नदिए आफूहरू लुकेर भेट्ने गरेको उनले सुनाइन्। लक्ष्मीका अनुसार आमाले बार्न खोजे पनि पारिवारिक परिस्थितिले सम्भव नभएपछि छाडेकी थिइन्। त्यसैले धेरैजसो कुराहरू परिस्थितिअनुसार परिवर्तन हुने र सोहीअनुसार ढल्नुपर्ने उनको बुझाइ छ।
'पहिले थियो होला बार्नुपर्ने आवश्यकता,' उनी भन्छिन्, 'तर अब पनि महिनावारीमा बार्न लगाउनु हुँदैन। त्यसलाई धर्मसँग जोड्नु हुँदैन। कुनै काम शारीरिक वा मानसिक कठिनाइ भएर गर्न सक्दैन भने चाहिँ त्यो काम लगाउनु हुँदैन।'
पहिलेपहिले लक्ष्मी बहिनीहरूलाई ऋषि पञ्चमी पूजा गर्न लैजान्थिन्। तर जब उनले उक्त पूजा गर्नुको कारण थाहा पाइन्, उनले पूजा गर्न छोडिदिइन्।
'म महिनावारी हुनु भनेको पाप गर्नु होइन,' उनी भन्छिन्, 'त्यो पूजा महिनावारीको समयमा गरेको पाप पखाल्नु रहेछ। त्यसैले मैले गर्न छाडिदिएँ।'
स्कुलको पाठ्यक्रममा पनि महिनावारीबारे विस्तृत रूपमा उल्लेख नहुँदा यसबारे महिला र पुरूष दुवैलाई जानकारी कम हुने उनी बताउँछिन्। त्यस्तै भएका कुरा पनि शिक्षकहरूले खुलेर नपढाउँदा महिनावारी शिक्षाबाट बञ्चित हुनुपरेको उनको अनुमान छ।
'हाम्रो पुस्ताले अब आफ्ना दाइभाइ र दिदीबहिनीहरूसँग कुरा गरेर महिनावारीलाई सामान्य बनाउनुपर्छ,' उनी भन्छिन्, 'त्यसै गरी आमाबालाई पनि सम्झाउँदै लग्नुपर्छ।'
महिलाहरूले भोग्ने कतिपय कुरामा आवाज उठाउँदा पुरूषले पनि साथ दिनुपर्ने जीवन बताउँछन्।
'अझै पनि श्रीमतीको महिनावारी र उनीहरूले यो समयमा भोग्ने समस्याहरूबारे श्रीमानलाई थाहा हुँदैन,' जीवन भन्छन्, 'उनीहरूले भन्नुपर्छ। भनेपछि हामीले पनि बुझ्छौं र बुझ्नुपर्छ। महिनावारीबारे पुरूषले पनि बुझ्न उत्तिकै जरूरी हुन्छ।'
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)
४- अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
५- रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ)
६- एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ)
७- कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ)
८ - महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ)
९- म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ)
१०- डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ)
११- 'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ)