जीपको ठक्करबाट दाङको तुलसीपुरमा एक जना शिक्षिकको मृत्यु भएको छ।
जीपको ठक्करबाट घाइते भई उपचारका लागि बाँके लगिएकोमा दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिक सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले सेतोपाटीलाई बताए।
सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक हुन्।
बिहीबार बिहान ९:५० बजेतिर हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। जतिखेर सीता विद्यालयमा पढाउन गइरहेकी थिइन्।
जीपको ठक्करबाट गम्भीर घाइते सीताको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज नरसिंह कलेजका लागि रिफर गरिएको थियो। उनको उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानाकरी दिए।
पानी परिरहेको समयमा दुबै सवारी तीव्र गतिमा रहेको हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको पूर्वानुमान छ। जीप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
‘पानी परेको समयमा सीतालाई विद्यालय समयमै पुग्ने हतारो हुनु र जीप चालकले तीव्र गतिमा हाँकेको हुँदा दुर्घटना भएकोजस्तो देखिएको छ,’ दुर्घटनास्थल एक प्रहरी अधिकारीले भने, ‘हैन भने दुर्घटनास्थल त्यस्तो घुम्ती वा मोड भएको ठाउँ हैन।’
सीताका श्रीमान झग्गु केसी पनि शिक्षक नै हुन्।
उनी तुलसीपुर–४ स्थित गुरु जजुर नमूना उच्च मावि रक्षाचौरमा पढाउँदै आएका छन्। झग्गु एकीकृत अखिल नेपाल शिक्षक संगठनका दाङ जिल्ला अध्यक्ष पनि हुन्।