इलाका प्रशासन कार्यालय राजापुरबाट गत वैशाख २८ गते विवेक बिकले नागरिकता पाए।
राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टको सिफारिसका आधारमा प्रशासनले विवेकको नाउमा नागरिकता जारी गरेको थियो।
नागरिकतामा उनको बाबुको नाम ज्ञानबहादुर बिक, आमाको नाम जोगिनी बिक र ठेगाना राजपुर गाउँपालिका वडा नम्बर ५ उल्लेख थियो।
तर, एक महिना नबित्दै विवेक ज्ञानबहादुर र जोगिनीको छोरा नभएको सूचना पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो।
अनुसन्धानकै क्रममा विवेक ज्ञानबहादुर र जोगिनीको नाति रहेको खुल्यो। विवेक, ज्ञानबहादुर र जोगिनीका छोरी शोभाका छोरा रहेछन्। इलाका प्रशासन कार्यालय लमहीले जेठ २६ गते ज्ञानबहादुर र जोगिनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
डिएसपी गौतमका अनुसार मुद्दा परेपछि विवेक र उनका हजुरबुवा पक्राउ परेका थिए। हजुरआमा जोगिनी जेठ ३२ गते पक्राउ परेकी थिइन्।
छोरी शोभा र उनकी श्रीमान कहाँ छन् भन्ने थाहापत्तो नहुँदा ज्ञानबहादुरले नातिलाई आफ्नै छोरा बनाएर नागरिकता दिलाएका थिए।
साक्षी बसेर झुटो बयान दिएर बिबेकलाई नागरिकता दिलाउन भूमिका खेल्ने मध्यका राजपुर – ५ का साबित्राकुमारी बिक, गौसरी बोहोरा, दुधीमाया घर्ती, रमेश घर्ती, मनकुमारी घर्तीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरेको डिएसपी गौतमले जानकारी दिए।
विवेकलाई नागरिकता दिलाउन कीर्ते कागज बनाएर सिफारिस गरेकाले वडाध्यक्ष टंकबहादुर बिष्ट र वडासचिव सन्तोष भण्डारीबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
पक्राउ पूर्जी जारी भएपछि उनीहरु दुबै जना फरार भएको डिएसपी गौतमले जानकारी दिए। उनीहरुको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ।