१४ वर्षअघि बजारमा ‘मिनरल वाटर’ पनि पाइँदैनथ्यो। दाङको तुलसीपुर बजारमा कहीँकतै सार्वजनिक धारा पनि थिएनन्। केही खाजा नास्ता खाएपछि मात्रै होटलमा पानी खान पाइन्थ्यो। चर्को गर्मीका दिनमा पिउने पानी नपाउँदा बाटोमा हिँड्नेहरू काकाकुल बन्ने गर्थे।
त्यसमा पनि गाउँ घरबाट आउने महिला, बालबालिका र अशक्तहरू झनै समस्यामा हुन्थे। त्यस्तो दृष्य टुलुटुलु नियालेर बसिरहन होटल व्यवसायी टेकराम खड्काको मनले मानेन। त्यसपछि उनले सुरू गरेका थिए सुख्खा मौसममा नि:शुल्क पानी खुवाउने अभियान। जुन अहिलेसम्म निरन्तर चल्दै आएको छ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर चोकको सडकपेटी नजिकै खड्काले ‘आउनुहोस् नि:शुल्क पानी पिएर जानुहोस्’ भनेर ब्यानर टाँगेर बसेका हुन्छन्। सर्वसाधारणलाई पानी खुवाउन खड्का कहिले आफैं, नभए परिवारका सदस्य वा आफ्ना कर्मचारी खटाएर सर्वसाधारणको प्यास बुझाउँदै आएका छन्।
यति गर्न उनको दैनिक तीन हजारको हाराहारीमा खर्च हुने गर्छ। सुख्खायाम सुरू भएसँगै एक डेढ महिनादेखि उनले दिनहुँ सर्वसाधारणलाई पानी खुवाउँदै आएका छन्। ६८ वर्षीय टेकराम आखिर यो सबै किन गरिरहेका छन्? त्यसबारे भन्छन्, ‘सेवा नै धर्म हो। पुण्य कमाउन र आत्मसन्तुष्टिका लागि म यो सबै गरिरहेको छु।’
आफू बाँचुञ्जेल सर्वसाधारणलाई पानी खुवाउने अभियान जारी रहने उनको अठोट छ।
हुन पनि टन्टलापुर गर्मीमा उनीकहाँ पानी पिउनेहरूले मन फुकाएरै आशिष दिने गरेका छन्।
‘बाजे हजुरको कल्याण होस्, हाम्रो उमेर पनि तपाईंलाई थपियो भन्नेहरू धेरै आउनुहुन्छ,’ टेकरामले भने, ‘धेरैले सहर बजारमा पैसा नतिरी केही पाइँदैन भन्नेहरूलाई तपाईंजस्ता मनकारी र मानव धर्ममा लाग्ने व्यक्तिहरू उदाहरण हो भन्नुहुन्छ।’
सर्वसाधारणबाट पाउने यस्ता प्रशंसा र आशिषले टेकरामलाई सन्तुष्टि मात्रै मिल्दैन रे उनलाई चैनको निन्द्रासमेत लाग्ने गरेको बताए।
उनी दैनिक रूपमा पानी किनेर, माटोको घैंटोमा पानी र बरफ राखेर सर्वसाधारणलाई खुवाउँदै आएका छन्।
दैनिक तीन हजार बढी खर्च हुने भएपछि सुरूका केही वर्ष श्रीमती, छोरा-बुहारीले अनावश्यक खर्च र झन्झट नबेहोर्न भनेका थिए। तर परिवारको कुरा उनले सुनेनन्।
बरू टेकरामले घर परिवारका सबै सदस्यलाई मानवताको सेवाभन्दा ठूलो धर्म अरू नहुने भन्दै सम्झाउन सफल भए। त्यसपछि उनका घर परिवार सबैले साथ दिए।
तुलसीपुर बजारमा सर्वसाधारणका लागि सार्वजनिक धारा नहुँदा पनि सर्वसाधारण सुख्खा मौसममा काकाकुल हुने गर्छन्।
टेकरामकहाँ पानी पिउनेहरूको घुइँचो नै लाग्ने गरेको हुन्छ। उनी महिला, अशक्त र बालबालिकालाई प्राथमिकता दिने गर्छन्।सहज रूपमा चिसो पानी खान पाउनेहरूले टेकरामको कर्मको प्रशंसा गर्दै धन्यवाद दिने गर्छन्।
वैशाखदेखि सुरू हुने टेकरामको यो अभियान झरी नपर्दासम्म कायमै रहन्छ। पानीका मूलहरू फुट्न थाले र सर्वसाधारण किसान खेतीपातीमा व्यस्त बन्न थालेपछि उनको अभियान रोकिने गर्छ।
उनले गत वर्ष बसपार्कमा पनि पानी खुवाउने अभियान सञ्चालन गरेका थिए।
दैनिक तीन हजार लिटरभन्दा बढी पानी सर्वसाधारणलाई नि:शुल्क खुवाउने गरेको बताउने टेकरामले अभियान सञ्चालनका क्रममा हरेक वर्ष साढे दुईदेखि तीन लाखसम्म खर्च हुने गरेको बताए।
तुलसीपुरमा टेकराम र उनको परिवारले सञ्चालन गरेको ‘एकान्त होटेल’ निकै लोकप्रिय छ। वर्षौं पहिले सानो टहरोबाट दाल-रोटीको व्यवसाय सुरू गरेका टेकरामले मेहनतले आज अर्ब बढीको मालिक बनिसकेका छन्।
‘म जिरोबाट हिरो भएको मानिस हुँ,’ उनले भने, ‘मेरो मेहनतले भगवानले यति सबै दिएपछि अब मैले पनि सक्दो सेवा गर्नुपर्छ भन्ने हो।’
उनले आफ्नो होटेलमा अप्ठ्यारोमा परेका र पैसा नहुनेहरू आउँदा नि:शुल्क खाना दिने गरेको बताए।
‘कोही भोको नहुन् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘सक्नेहरूले आफैं मेहनतको रोटी खानुपर्छ, यदी कसैसँग भएन कुनै समस्या भएको थाहा पाए नि:शुल्क खाना दिने गरेको छु।’
उनी होटल व्यवसायी संघ तुलसीपुरका पूर्व अध्यक्ष र सल्लाहकार पनि हुन्।