दस दिनपछि छुटेका शान्तिनगर गाउँपालिका- २ का वडाध्यक्ष सुनिल वलीले घोराहीमा पत्रकार सम्मेलन गरेका छन्।
दस दिन प्रहरी हिरासतमा बसेर सोमबार बेलुका छुटेका वलीले बेलुका अबेर नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरि आफूले अनियमितता रोक्न खोज्दा सुनियोजित रूपमा फसाइएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
अध्यक्ष वलीले योजनाको डुब्लिकेसनको आशंकामा कुरा उठाउँदा आफूलाई फसाइएको बताए ।
स्थानीय जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरमा पुस्तकालय स्थापनाको विषयमा आफूले बुझ्न खोज्दा कर्मचारीले नै वडाध्यक्ष भनेको को हो ? भनेर प्रश्न गरेपछि आफूसँग विवाद भएको उनले जानकारी दिए ।
‘वडामा हुने अधिकांश विकास निर्माणका कामहरू वडाध्यक्षको सिफारिसमा हुने गरेको छ, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजनाहरू कसरी पर्यो भनेर मैले बुझ्न मात्रै खोजेको थिए,’ वडाध्यक्ष वलीले भने, ‘तर कर्मचारीले नै वडाध्यक्ष भनेको को हो? भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो।’
त्यही सामान्य विषयलाई लिएर राजनीतिक पहुँचका आधारमा आफूलाई फसाइएको उनले बताएका थिए ।
स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष वलीले असार ७ गते दिउँसो ४ बजेतिर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेका थिए।
सोही आरोपमा फरार रहेका वलीलाई घोराही उपमहानगरपालिका–१० बाट असार ८ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता नायब उपरीक्षक राजन गौतमले जानकारी दिएका थिए ।
अध्यक्ष वलीले आफुले वडामा कुनैपनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले आफूमाथि पटक-पटक जनप्रतिनिधि र कर्मचारीहरूले हतोस्ताहित गराउने प्रयास गरेको आरोप पनि लगाए।
शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख समुन पाण्डेयले आफुमाथि हातपात र दुव्र्यवहार भएको भन्दै प्रहरीमा वडाध्यक्ष विरूद्ध किटानी जाहेरी दिएको हुँदा प्रहरीले उनलाई पक्राउ गरेको थियो। वली सोमवार धरौटीमा रिहा भएका हुन्।
गत फागुनमा पनि वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए।
उनले कुर्सी उठाएर दुबै जनालाई त्यसैले हान्न खोजेका थिए। त्यसको विरोधमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिए पनि फेरि त्यस्तो कार्य नदोर्याउने सर्तमा कुरा मिलेको थियो।
यो पनि
गाउँपालिका अध्यक्षलाई कार्यकक्षमै टेबल उठाएर हान्न खोजे वडाध्यक्षले
शिक्षा अधिकृतलाई हातपात गर्ने शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष सुनिल वली पक्राउ