सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका बसधनीको पनि उपचारका क्रममा बिहीबार दिउँसो दाङको तुलसीपुरमा मृत्यु भएको छ।
बसधनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले बताए।
गाडीधनी वलीलाई कपुरकोटरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर ल्याइएको थियो। त्यसअघि घटनास्थलमै करेन्ट लागेर रोल्पाको गंगादेव गाउँपालिका –४ का ७० वर्षीय कालुराम डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल डाँगीको मृत्यु भइसकेको थियो।
एक आफन्तका अनुसार उपचार गराउन भनेर तीन दिन अगाडि बाबुछोरा दाङको तुलसीपुर आएका थिए।
‘बुवालाई धेरै बचाउन उपचार गराउन लगेर छोरा पनि सँगै जानु भएको थियो,’ उनले भने, ‘दैवलिला उहाँहरू घर पुग्न नपाई बाबुछोराको एकै साथ दुःखद् मृत्यु भयो।’
बुवालाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गरी बिहीबार बिहान घरतर्फ फर्किने क्रममा उनीहरू सवार बसमा करेन्ट लागेको थियो।
राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोट–३ चोरखोला नजिक सडक छेउमा गाडिएको विद्युत पोलको सपोर्टबाट रा १ ख ८३४ नम्बरको बसमा साढे दश बजेतिर करेन्ट लागेपछि बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो।
‘साँघुरो बाटोमा सुख्खा पहिरो खुसेको हुँदा त्यसको प्रभावले लत्रिएको सपोर्ट तारबाट बसमा करेन्ट लागेको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बताए।
‘घटनास्थलमा साँघुरो बाटो रहेको र त्यसमाथि सुख्खा पहिरो झरेका कारण चालकले केही किनारमा च्यापेर जाँदा पहिरोका कारण लत्रिएको पोलको सपोर्ट तारले छोएछ,’ उनले भने, ‘त्यही लत्रिएको तारले करेन्ट लागेको रहेछ।’
बसमा २० जना यात्रुमध्ये तीन जनाको मृत्यु भएको थियो। अन्य सबै यात्रुको अवस्था सामान्य छ।
बाबुलाई करेन्ट लागेपछि तान्न गएका थिए छोरा
इलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम बोहरासहितको टोली घटनाबारे खबर सुनेलगत्तै घटनास्थलमा खटेका थिए।
घटनास्थल कपुरकोट–३ चोरखोलामा पुगेर उनले घटना कसरी भयो भन्नेबारे बसमा सवार यात्रुदेखि अन्य प्राविधिक पाटोसमेत विश्लेषण गरे।
चालकले सुख्खा पहिरोको कारण विद्युत पोलका लागि राखिएको सपोर्ट तार जमिनमा लत्रिएको आफूले नदेखेको भनेर बयान गरेको प्रहरी निरीक्षक बोहराले बताए।
गुडिरहेको बसमा करेन्ट लागेको जस्तो छ भनेर कराउने व्यक्ति बसको पछाडि बसेका एक जना युवक थिए।
उनी त्यति बोलेपछि बस पनि रोकियो। किनभने बसको तल्लो मागमा लत्रिएको सपोर्ट ताल अल्झिएको थियो। यात्रुहरू कोही झ्यालबाट र कोही ढोकाबाट धमाधम हाम फाल्न थाले।
बस साहु सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वली सुरूमै झरिसकेका थिए।
सबै बसका मानिस एकपछि अर्कौ गर्दै हतार हतार झरेपछि रोल्पाको गंगादेव गाउँपालिका –४ का ४२ वर्षीय टोपलाल डाँगी पनि बसबाट झरिसकेका थिए। उनका बुवा ७० वर्षीय कालुराम डाँगीले पनि जमिनमा झरिसकेका थिए। तर, फेरि उनी झोला लिन जान्छु भन्दै बसमा उक्लन खोजे। बुढ्यौली शरीर एउटा खुट्टा जमिनमा र अर्को हात बसको ढोकाको ह्याण्डलमा समाते। यहीनेर अन्जानमै उनले गल्ती गरेको प्रहरी ठान्छ।
जसै उनले एउटा खुट्टा जमिनमा टेकेर अर्को हातले ढोकाको ह्याण्डलमाथि उक्लनलाई समाते त्यसले अर्थिङको काम गर्यो। तत्कालै कालुरामलाई करेन्टले काबुमा पारिसकेको थियो। बुवालाई करेन्ट लागेको देखेर छोरा टोपलालले आफूलाई सम्हाल्न सकेनन्।
उनी तुरून्तै बुवा भन्दै दौडिएर आफैं छुटाउन भनेर लागे। त्यसरी करेन्ट लागेका व्यक्तिलाई आफैंले छुनुहुन्न, सुकेको काठ वा करेन्ट प्रवाह नहुने वस्तुले मात्रै छुनुपर्छ भन्ने हेक्का उनले राखेनन् र बुवा कालुरामलाई करेन्टबाट छुटाएर ल्याउन भनेर गएका छोरा टोपलाललाई पनि करेन्टले आफ्नो काबुमा पार्यो। उनीहरूमध्ये केहीबेरमै बाबु बसको ढोका र छोरा जमिनमा फत्रकै लडे।
त्यही बीचमा आसपासको चिसो जमिनमा अर्थिङ फैलिसकेको थियो। जब कालुराम लडे सबैको ध्यान त्यतै पर्यो। त्यही क्रममा चिसो जमिनमा उभिएका बसधनी महेन्द्र वलीलाई पनि करेन्टले लडाइसकेको थियो। उनको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ।
‘यदि सुरूमै कालुराम डाँगीले जस्तै गरी एउटा खुट्टा जमिनमा र अर्को हात ढोकाको ह्याण्डलमा राखेर कोही बसबाट झर्ने प्रयास गरेको भए ठूलो दुर्घटना हुने थियो,’ प्रहरी निरीक्षक बोहराले भने, ‘अन्य यात्रुले त्यो गल्ती नगरी धमाधम हाम फालेको हुँदा उहाँहरू जोगिनु भयो।’
लत्रिएका तारहरू समयमै मर्मत र व्यवस्थापनमा ध्यान नदिनु पनि विद्युत प्राधिकरणको लापरबाही मान्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।