दाङ बंगलाचुली गाउँपालिका–५ मुर्कुटीका ६५ वर्षीय दलबहादुर मगर आफूले गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा दंग थिए।
गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर प्रयोगमा आएपछि स्थानीय किसानले खेतबारीमा उत्पादन गरेका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्न सहज हुने बताउँदा उनी कोल्ड स्टोरमा आफूले उत्पादन गरेका सामग्री भण्डार गरेको सपना देख्थे।
‘मूल्य नपाउँदा भण्डार गरी राख्ने र मूल्य राम्रो पाएको समयमा बिक्री गर्न सकिन्छ भन्ने कुराले हामी जस्ता किसान उत्साहित थियौं,’ मगरले भने, ‘तर, कोल्ड स्टोरमा सामान राख्ने हाम्रो सपना विपनामा परिणत हुन नपाउँदै भत्किएपछि न निको लागेको छ।’
बंगलाचुली रोल्पा र प्यूठानसँग सीमाना जोडिएको पहाडी भूभाग हो। यहाँ अमिलो जातका फलफूल र तरकारी उत्पादन राम्रो हुन्छ। बंगलाचुलीमा सुन्तला, अदुवा, कागती, आलु खेती हुन्छ। साथै पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्नेहरूको संख्या पनि बढ्दै जान थालेको स्थानीय सुनिता वली बताउँछिन्।
पालिकाको साकिने र कुरूले सन्तुलाका साथै अदुवा, कागती उत्पादन हुने गरेको हुँदा कोल्ड स्टोर निर्माण भएको देख्दा खुसी भएका स्थानीय पहिरोले कोल्ड-स्टोर भत्किएपछि निराश भएको उनले बताइन्।
‘यो पहाडमा करोड बढी खर्चमा किसानका उत्पादन राख्ने भनेर कोल्ड स्टोर बनाइनु निकै सकारात्मक पक्ष थियो,’ उनले भनिन्, ‘तर, के गर्नु त्यो कोल्ड स्टोर प्रयोग गर्न नपाई पहिरोका कारण भत्किएको हुँदा हामीले त्यसको अनुभव नै गर्न पाएनौं।’
स्थानीय किसानमा ऊर्जा थप्न र उनीहरूलाई व्यवसाय उन्मुख बनाउन सवा करोड बढी खर्चेर कोल्ड स्टोर बनाउन पालिकाले पहल थालेको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख ४ हजार १०२ र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार ८०९ गरी कुल एक करोड २७ लाख लागतमा मुर्कुटी गाउँको काल्लो मुनि कोल्ड स्टोरको भवन निर्माण गरिएको थियो।
लोहार पानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीका अनुसार उक्त कोल्ड स्टोर एक सय मेट्रिक टन क्षमताको थियो।
२०७७ सालमै वर्षाले कोल्ड स्टोरको भवनमा आंशिक मात्रामा क्षति पुर्याएको भए पनि त्यसलाई मर्मत गरिएको थियो।
फेरि वर्ष असोज अन्तिममा भारी वर्षा पछि झरेको पहिरोका कारण कोल्ड स्टोरको भवनमा क्षति पुगेपछि त्यो उपयोगविहीन बनेको हो।
स्थानीयहरूले भने कोल्ड स्टोर भवन पुन: मर्मत गर्न माग गरिरहेका छन्। मर्मत गर्न स्थानीयले गाउँपालिकासँग बजेट पनि मागेका छन्। तर गाउँपालिकाले बजेट नदिएको उनीहरूको गुनासो छ।
कोषाध्यक्ष गोपाल वलीले पनि आवश्यक बजेट छुट्याइदिन गरिएको आग्रहमा गाउँपालिकाका पदाधिकारीले चासो नदेखाएको गुनासो गरे।
बंगलाचुली–५ का पूर्व वडाध्यक्ष यनुराज खत्रीले राम्रो उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि स्थान छनोट गर्दा ध्यान नदिँदा करोड बढी लगानी खेर गएको प्रतिक्रिया दिए।
‘कोल्ड स्टोर किसानको हितका लागि बनाइएको थियो,’ उनले भने, ‘हामी स्थान छनोटमा चुकेका हौं।’
कोल्ड स्टोर प्रयोगमा आएको हुन्थ्यो भने आज मुर्कुटी, सकिने, कुरुले, रिभानलगायत आसपासका किसानले लाभ लिन सक्ने उनले बताए।
नेकपा माओवादी केन्द्रका नेता खत्रीले रिभानको सम्भावना देखेरै २०७६ सालमा तरकारी खेती र कागतीका लागि स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको जानकारी दिए।
त्यहाँका तरकारी खेतीप्रति थप आकर्षित गर्न कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रिकीरणका लागि त्यत्तिकै रकम खर्च गर्दै आएको थियो। तर कोल्ड स्टोर भत्किएसँगै स्थानीय किसानले देखेका सपना विपनामा परिणत हुन नसकेको खत्रीले बताए।