बुधबार दिउँसो २ बज्दै थियो। सल्यानको त्रिवेणी गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावत काममा व्यस्त थिए।
आफ्नै पालिका र जिल्लामा वार्षिक समीक्षा कार्यक्रम प्रस्तुत गर्ने समय नजिक आउँदै थियो। पावर प्वाइन्टमार्फत् गरिने प्रस्तुतिका लागि रावत तल्लीन भएर कम्प्युटरमा काम गरिरहेका थिए।
त्यतिबेला त्रिवेणी, ६ कोस पिपलका चिनजानकै साथीभाइ जनक बुढाथोकी रावतको कार्यकक्षमा प्रवेश गरे। रावत पनि सोही ठाउँकै थिए। प्रवेश गर्न साथ बुढाथोकीले शाखा प्रमुख रावतलाई ‘के काम गर्न लाछस्’ भनेर सोधे।
आफ्नै काममा व्यस्त शाखा प्रमुख रावतले सहज रूपमै बुढाथोकीलाई–‘काम गर्न लाछु दाइ’ भनेर जवाफ दिए। रावत फेरि पहिलैजस्तै कम्प्युटरतर्फ फर्किएर काममा तल्लीन हुन खोजे।
तर, एकाएक शाखा प्रमुख रावतमाथि बुढाथोकीले मुक्का बर्साए।
‘मलाई एकाएक ६ पटक जति टाउकोमा मुक्काले प्रहार गर्नु भयो,’ रावतले भने, ‘एक दुई पटक अनुहारमा प्रहार गर्दा मेरो चश्मा झरम्मै फुट्यो।’
बुढाथोकीको आक्रमणबाट टाउकोमा टुटुलो उठेको, एउटा आँखामा निलडाम बसेको र शरीरका अन्य भागमा पनि चोट लागेको शाखा प्रमुख रावतले बताए।
बुढाथोकीले आफूलाई किन आक्रमण गरे भन्नेबारे शाखा प्रमुख रावतले भेउ पाउन सकेका छैनन्, उनीहरूका बीचमा सौहार्द र निकट सम्बन्ध जो थियो।
‘म वार्षिक समीक्षा कार्यक्रमको प्रस्तुतिका लागि वार्षिक प्रगति विवरण बनाउन तल्लीन थिएँ,’ रावतले भने, ‘यदि उहाँलाई औषधी नै चाहिएको भए पनि म व्यस्त छँदा औषधी दिने अरू कर्मचारी साथीहरू हुनुहुन्थ्यो। तर एक्कासि आफूले सम्मान गर्ने व्यक्तिबाट किन आक्रमण भयो मैले बुझ्नै सकेको छैन।’
शाखा प्रमुख रावतमाथि कार्यकक्षमै कुटपिट हुँदा अन्य कर्मचारी पनि साथमै थिए। अरू पनि अक्कवक्क परे। हल्ला खल्ला भयो। कसैले प्रहरीलाई खबर गर्यो। नजिकको प्रहरी आएर तत्कालै बुढाथोकीलाई नियन्त्रणमा लियो।
बिनाकारण पशु शाखा प्रमुखलाई कार्यकक्षमै आक्रमण गर्ने बुढाथोकीलाई इलाका प्रहरी कार्यालय लुहाममा लगेर हिरासतमा राखिएको छ।
पीडित शाखा प्रमुख रावतले बिहीबार प्रहरीमा पुगेर आफूमाथि आक्रमण गर्ने बुढाथोकीविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको इप्रका लुहामका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले सेतोपाटीलाई बताए।
प्रहरी हिरासतमा रहेका बुढाथोकीले आफू गाउँ घरकै भाइ तथा पशु शाखा प्रमुख रावत छ भनेर भेट्न भनेर गएको तर आफूलाई त्यहाँ पुग्दा वास्ता नगरेको जस्तो लागेपछि रिस उठेका कारण कुटपिट गरेको कुरा प्रहरीसमक्ष बयान गरेको प्रहरी निरीक्षक बोहराले बताए।
‘म गाउँ घरको साथीभाइ छ भनेर सम्झिएर उसकै कार्यालयमा भेट्न जाँदा ऊ राम्रोसँग बोल्न पनि बोलेन र उता फर्किहाल्यो,’ बुढाथोकीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक बोहराले भने, ‘उसले मलाई वास्तै नगरेको जस्तो मलाई महसुस भएपछि रिस उठेको हुँदा आफूलाई सम्हाल्न नसकेर कुटपिट गरेको हुँ।’
रावतमाथि कार्यकक्षमै बिनाकारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्।
शाखा प्रमुख रावत उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आएका छन्।