१८ वर्षअघि एसएलसीमा फेल भए पनि दाङकी कल्पना शर्मा सिलाइकटाइको ६ महिने तालिममा ५२ जनालाई जितेर पहिलो भइन्।
एसएलसी सकेर बसेका बेला धेरैले उनलाई कम्प्युटर सिक्न सुझाव दिएका थिए। कतिपयले विदेश जान भाषा सिक्न पनि सल्लाह दिए।
कल्पनाले भने आफ्नो रूचिको काम यही सिलाइकटाइ हो भन्ने पत्ता लगाइसकेकी थिइन्। त्यसैले एसएलसी फेल भएर बस्नुपर्ने एक वर्षको समय उनले तालिम लिने योजना बनाइन्।
परिवारले पनि सहमति दियो।
तालिम पो कता लिने भनेर ठाउँ खोज्दै थिइन्, त्यही बेला सीप विकास कार्यालय र घरेलु उद्योग कार्यालयले संयुक्त रूपमा ६ महिनाको तालिम चलाउन लागेको थाहा पाइन्। आवेदन दिइन्। छनौट भइन्।
'तालिममा सहभागी ५३ जना प्रशिक्षार्थीमध्ये म प्रथम भएँ,' कल्पनाले भनिन्, 'यसको प्रमाणपत्र पाउँदा मेरो हर्षको सीमा थिएन।'
त्यसपछि फेरि दाङको तुलसीपुर बजारमा 'रेयुकाइ' नामक सामाजिक संस्थाले दिएको तीनमहिने तालिममा सहभागी हुन पाइन्।
कल्पनाको लगन देखेर प्रशिक्षकहरूले हौसला दिए। तालिममा फेरि उनी प्रथम भइन्। प्रमाणपत्रका साथ तीन हजार २०० रूपैयाँ पुरस्कार पाइन्।
रेयुकाइले उनलाई प्रशिक्षक बन्न आग्रह गर्यो। त्यही बेला उनले यसैमा आफ्नो भविष्य देखिन्। तीनमहिने तालिममा प्रशिक्षक हुँदा एकमुस्ट चार हजार रूपैयाँ हात पर्यो।
त्यसपछि उनले फेरि एसएलसी दिइन्, उत्तीर्ण भइन्। त्यो वर्ष धेरै संस्थाहरूमा उनी सिलाइकटाइको प्रशिक्षक भएरै बिताइन्। अर्को वर्षसम्म त आफैं प्रशिक्षण केन्द्र खोल्ने आत्मविश्वास आइसकेको थियो।
'धेरै महिलालाई तालिम दिने र आत्मनिर्भर बन्न सघाउने विचार आएपछि म आफैं मख्ख परेँ,' कल्पनाले भनिन्, 'आमालाई आफ्नो योजना सुनाएँ।'
आमा कान्छी छोरीको रूचि र मिहिनेतले खुसी थिइन्। सिलाई मेसिन किन्न कल्पनासँग केही रकम थियो। नपुगेको चालीस हजार रूपैयाँ आमासँग मागिन्। १६ वर्षअघि आमाका लागि त्यति पैसा जुटाउनु ठूलै कुरा थियो, तर जुटाइन्।
यसपछि कल्पना वीरगन्ज गइन् र १४ वटा हाते मेसिन किनेर ल्याइन्। तुलसीपुरमा एउटा कोठा भाडामा लिइन्। 'कामना कटाइ सिलाइ ट्रेनिङ सेन्टर' नाम राखेर काम सुरू गरिन्।
उनले आफ्नै गाउँ मानपुरका दिदीबहिनीलाई तालिम लिन आग्रह गरिन्। पहिलो खेपमा आठ जना आए। बिस्तारै प्रशिक्षार्थी बढ्दै गए। कोठा भरिभराउ भयो।
यसपछि कल्पनाले पछाडि फर्किनु परेन। गाउँ वरपरसम्म उनको चर्चा हुन थाल्यो। प्रशिक्षण केन्द्रबाट केही कमाइ हुन थाल्यो। आमालाई घरखर्चमा भरथेग गर्न थालिन्।
सिलाइकटाइसँगै उनले पढाइ अघि बढाइन्, स्नातक तह पूरा गरिन्।
प्रशिक्षण केन्द्र खुलेको तीन वर्षपछि महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी नेता ध्रुव आचार्यसँग उनको बिहे भयो। उनीहरूका एक छोरा छन्, ६ कक्षामा पढ्दैछन्।
राजनीति गर्ने भएकाले ध्रुवको आफ्नै अलग्गै रोजगारीको बाटो छैन। उनको खर्च पनि कल्पनाले नै बेहोर्छिन्। स्वावलम्बी पत्नी हुँदा छोरामान्छेलाई कति सजिलो हुने रहेछ भन्ने अनुभव आफूलाई भएको उनले बताए।
'मेरी श्रीमतीले मलाई सधैं खर्च दिइन्। मलाई परिवार पाल्ने चिन्ता नै भएन। त्यसैले कुनै फिक्रिबिना राजनीतिमा समय दिन पाएको छु। स्वावलम्बी पत्नी पाएर म सधैं आफूलाई भाग्यमानी ठान्छु,' ध्रुवले भने।
अझै पनि कतिपले कल्पनालाई पढाइअनुसारको पेसा गर्न सल्लाह दिन्छन्।
'लुगा सिउने काम किन गरेको' भन्छन्। उनका लागि भने पढाइ र पेसा अलगअलग कुरा हुन्।
'पढाइ शिक्षाका लागि हो, ज्ञानका लागि हो। पेसा आफ्नो रूचि र क्षमताअनुसार गर्ने हो। म मेरो रूचिको काम गर्दैछु। त्यसैले खुसी छु,' कल्पनाले भनिन्।
यति बेला उनको प्रशिक्षण केन्द्रमा २२ जना प्रशिक्षार्थी छन्। ६ महिनाको प्रशिक्षणमा दस हजार रूपैयाँ तिर्नुपर्छ। स्थानीय तह र संघसंस्थाले पनि प्रशिक्षार्थी पठाउँछन्। कल्पना दिनभर प्रशिक्षणमै व्यस्त रहन्छिन्।
उनले सबै हाते मेसिन बेचेर खुट्टाले घुमाउने १८ वटा मेसिन जोडेकी छन्। जुन घरमा १६ वर्षअघि प्रशिक्षण केन्द्र खोलेकी थिइन्, अहिले पनि त्यही घरमा छ। मासिक भाडा दस हजार रूपैयाँ तिर्छिन्।
'आफ्नै कमाइले तुलसीपुरको रजौरामा घडेरी किनेँ, घर बनाएँ। अर्को ठाउँमा पनि घडेरी किनेकी छु,' उनले भनिन्।
कल्पनाले बितेका १६ वर्षमा धेरैलाई प्रशिक्षण दिइन्। उनका केही प्रशिक्षार्थीले पनि प्रशिक्षण केन्द्र चलाएका छन्। कहिलेकाहीँ पुराना प्रशिक्षार्थीहरू उनलाई भेट्न आउँछन्।
'कोही दिदीबहिनी त गुरू सम्झेर मिठाइ लिएर आउनुहुन्छ। त्यस बेला मैले पनि राम्रै काम गरेकी रहेछु भन्ने लाग्छ,' कल्पना भन्छिन्, 'धेरै दिदीबहिनीहरूसँग भेट हुन्छ। सुखदुःखको कुरा हुन्छ।'
तुलसीपुर उपमहानगर–१८, बिजौरीकी सम्झना चौधरी, वडा नम्बर १२ की धना केसी र वडा नम्बर ५ की नीलम बोहरा उनका प्रशिक्षार्थी हुन्। अहिले उनीहरूले आआफ्नै व्यवसाय चलाएका छन्। वडा नम्बर ९ की हीरा वलीले पनि आफ्नै पसल चलाएकी छन्, प्रशिक्षक पनि भएकी छन्।
'कल्पनाको कहिल्यै नरिसाउने र हाँसीखुसी सिकाउने गुण छ,' हीराले भनिन्, 'उहाँबाटै सिकेको सीपले म पनि आत्मनिर्भरताको बाटोमा अघि बढेँ।'
कल्पना सीप सिकाउँदै परामर्श दिने काम पनि गर्छिन्। विभिन्न कारणले निराश भएका कतिपय महिला कल्पनालाई भेट्न आउँछन्। घरेलु हिंसामा परेका, सम्बन्ध विच्छेद भएका, निराशाले भरिएकाहरूको स्थिति विश्लेषण गरेर उनीहरूको आत्मबल बढाउन उनी सहयोग गर्छिन्। निराशाको कथाव्यथा लिएर आएका धेरै महिला सफलताको बाटोमा अघि बढेको उनले बताइन्।
'कुनै न कुनै सीप सिकेर आत्मनिर्भर हुनुपर्छ,' कल्पना सुझाव दिन्छिन्, 'हातमा सीप भए जहाँ गए पनि आत्मनिर्भर हुन सकिन्छ। आफ्नै कमाइ हुन्छ। घरपरिवार र समाजबाट सम्मान मिल्छ।'
नेपाल सरकारको उद्योग मन्त्रालयले दाङबाट २०७४ सालमा उनलाई उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट सम्मानित गरेको छ।