दाङको तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तापुराकी जानका बस्नेत शिक्षक हुन्। असार २७ गते उनी बेलझुण्डी माध्यामिक विद्यालयमा पढाइरहेकी थिइन्।
कक्षाकोठामा एकजना विद्यार्थी आएर जानकालाई खामसहितको चिठी थमाए।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नामबाट चिठी आएको थियो। बस्नेतले चिठी सामान्य होला भन्ने ठानेर सुरूमा वास्ता गरिनन्। यसअघि स्वेच्छिक सहयोग मागेको हुँदा सहयोग गरेकोले धन्यवाद दिएका होलान् भन्ने उनलाई लाग्यो।
कक्षा सकिएपछि आफूलाई पत्र आएको भन्दै अर्की शिक्षिकालाई देखाइन्। ती शिक्षिकाले खोलेर हेर्नु न के रहेछ भनिन्।
पत्र खोलेर हेरेपछि उनको अनुहारको भावभंगी बदलियो। खलखल पसिना छुटे। पत्रमा जानकासँग एक लाख रुपैयाँ मागिएको थियो। मागेको रकम नदिए वा प्रहरीलाई खबर गरे जस्तोसुकै अप्रिय घटाउन हुन सक्ने चेतावनी दिइएको थियो।
जानकाका भाइ पनि सोही विद्यालयमा पढाउँछन्। भाइलाई चेतावनीयुक्त पत्र देखाउँछु भनेर उनी भाइले पढाइरहेको कक्षाकोठामा पुगिन्। भाइ आत्तिएला भनेर देखाउन सकिनन्।
जानकाका श्रीमान विदेशमा छन्। घरमा आमा-छोरीमात्रै बस्छन्। आफूलाई आएको पत्रबारे जानकाले छिमेकी तथा चिनजानका पत्रकार ३३ वर्षीय धनराज तुफान भनिने धनबहादुर परियारलाई अवगत गराइन्। म्यासेन्जरमा पत्र पनि पठाइदिइन्।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ९ फालवाङका परियारको पछिल्लो समय जानकाको घर नजिकै घर बनाएका छन्।
जानकालाई बिस्तारै फोन र एसएमएस आउन थाले। भने जति पैसा नदिए घरमा बम बिस्फोट गराइदिने, छोरीसहित हत्या गरिदिने धम्की दिन थाले।
त्रासले जानकाका आमा-छोरी घर छोड्न बाध्य भए। उनी नजिकैको माइतीमा बस्न थालिन्। आफूसँग चन्दाको नाममा दिइएको धम्कीबारे जानकाले प्रहरी प्रशासनलाई पनि अवगत गराइसकेकी थिइन्। सादा पोशकका प्रहरीले आउँदा-जाँदा अप्रत्यक्ष रूपमा सुरक्षा दिए। झन्डै एक महिना प्रहरी चौकी बिजौरीका प्रमुख टीकाबहादुर कँवर र उनको समूहले त्यसैगरी सुरक्षा दियो।
यी सबै सूचना जानकाले चिनजानका पत्रकार भएको नाताले धनबहादुर परियारलाई पनि गराउँदै आएकी थिइन। धनबहादुले पनि जानकालाई पछ्याइरहेका थिए।
‘दिदी, तपाईंको घरमा आज किन बत्ति बलेको छैन, घरमा हुनुहुन्छ कि कहाँ हुनुहुन्छ,’ जानकाले धनबहादुरसँग कुरा गरेको सम्झँदै बिहीबार पत्रकार सम्मेलनमा भनिन्, ‘मेरो घर र मेरोबारे सानोतिनो चियो-चर्चा धनबहादुरले गर्दै आएका थिए।’
जानकालाई फोन र म्यासेजमा धम्की आउने क्रम रोकिएको थिएन। पैसाका फोन र एसएमएस पठाउनासाथ त्यो मोबाइल स्विच अफ गरिहाल्थे। प्रहरी पनि आजित बनेको थियो। प्रहरीले धम्की दिन प्रयोग भएको एनसेलको नम्बरको कल डिटेल निकाल्यो। फोन बेलायतमा बस्ने व्यक्तिका नाममा थियो। ती व्यक्ति डिटेल र फोटो फेसबुकमार्फत् निकालेर धनबहादुरकै समूहले किर्ते गरी सिमकार्ड झिकेको हुन सक्ने प्रहरी निष्कर्षमा पुग्यो।
जानकाको जाहेरीका आधारमा प्रहरीले सुक्ष्म रूपमा घटना अनुसन्धान गरिरहेकै थियो। अन्य तीन जनाले पनि प्रहरीसमक्ष आफूहरूसँग लाखौं रकम माग्दै नदिए ज्यान मार्ने वा बम विस्फोट गराइदिने धम्कीयुक्त पत्र, एसएमएस र फोन आउने गरेको हुँदा सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका थिए।
त्यस्तो निवेदन दिनेहरूमध्ये तुलसीपुर-६ स्थित हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसी, तुलसीपुर- ७ बुढागाउँ पर्सेनीका पूर्वशिक्षक इन्द्रबहादुर वली र सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक वामदेव अधिकारीसमेत थिए। केसीसँग १० लाख, वलीसँग एक लाख र अधिकारीसँग पाँच लाख रुपैयाँ माग गरिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उनीहरूमध्ये कसैलाई पत्रमा, कसैलाई ह्वाट्सएप, फोन र एसएमएसबाट लाखौं रुपैयाँ माग्दै नदिए ज्यान मार्नेसम्मका धम्की आएको पत्रकार सम्मेलनमा जानकारी दिए।
बुधबार बेलुका प्रहरी विभिन्न प्राविधिक अनुसन्धान गर्दै त्यसरी लाखौं चन्दा माग्दै बम बिस्फोट गराएर ज्यानै लिनेसम्मको धम्की दिने व्यक्तिको पहिचान गर्न सफल भयो।
ढिला नगरी प्रहरी धनबहादुर परियारको घर पुग्यो। धनबहादुरको घरबाट प्रहरीले कम्प्युटर, प्रिन्टर मात्रै होइन, धर्मेन्द्र बाँस्तोलाले खोलेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को लेटर प्याड, उक्त पार्टीको छाप, नौ वटा बैंकका चेक, विभिन्न व्यक्तिका नौ वटा फोटा, विभिन्न व्यक्तिका ३९ वटा नागरिकताका फोटोकपी फेला पार्यो। विभिन्न व्यक्तिसँग चन्दा माग्दै पठाएका पत्रहरू पनि धनबहादुरको मोबाइलमा भेटिए।
पक्राउ गर्न खोज्दा धनबहादुरले पत्रकार महासंघ सल्यान जिल्ला शाखाको परिचय पत्र देखाउँदै प्रतावाद गर्न खोजे। आफू ‘खबर एक्सरे’को दाङ संवाददाता भएको दाबी गरे। उनी पत्रकार महासंघ सल्यानका साधारण सदस्य हुन्।
त्योसँगै उनी एमाले सल्यानका नेता हुन्। एमालेको त्रिवेणी गाउँपालिका कमिटीका सचिव रहेका उनी केही दिनअघि त्रिवेणी गाउँपालिका अधिवेशन आयोजक कमिटीका संयोजक बनेका थिए।
प्रहरीलाई उनले आफू एमालेको जिल्ला नेता र प्रेस चौतारी नेपालको कर्णाली प्रदेश सदस्य हुँ भन्दै पक्राउ गरे राम्रो नहुने चेतावनी दिए।
प्रहरीले उनले गरेको बदामासी थाहा पाइसकेको थियो। प्रहरीले एकपछि अर्को प्रश्न गर्दा धनबहादुरले सत्य धेरै बेर छिपाउन सकेनन्। ती बदमासी आफैंले गर्दै आएको स्वीकार गरे।
उनको बयानको आधारमा सल्यानकै छत्रेश्वरी गाउँपालिकाका-१ दमाचौरका २९ वर्षीय चन्द्रप्रकाश बिकलाई पनि प्रहरीले तत्काल पक्राउ गर्यो।
पत्रकारसमेत रहेका एमाले सल्यानका नेता धनबहादुरले गलत तरिकाले धन कमाउनकै लागि अर्कै पार्टीको लेटरहेड दुरूपयोग गर्दै चन्दा असुली गर्न मात्रै खोजेका हुन् वा उनको एमालेबाहेक त्यस पार्टीसँग पनि सम्बन्ध छ? भन्ने कुरा अनुसन्धान हुन बाँकी रहेको डिएसपी मल्लले बताए।
‘हालसम्म प्रहरीसमक्ष चार जना पीडितमात्रै आउनुभएको छ,’ डिएसपी मल्लले भने, ‘अरूसँग पैसा उठाएको/नउठाएको अनुसन्धान हुन बाँकी छ।’
मधुसुदन प्रिन्सिपल भएकै विद्यालयमा धनबहादुरकी छोरी सोही विद्यालयमा पढ्छिन्।
‘लामो समयदेखि संगत भएको र छोरी पनि हाम्रै स्कुलमा पढ्ने भएकाले उनले त्यस्तो गरे होलान् भन्ने त हामीले सोच्दै सोचेनौं,’ मधुसुदनले भने।
पक्राउ परेका दुई जनाविरूद्ध आपराधिक लाभ उठाउन खोजेकोसम्बन्धी मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया थालिने डिएसपी मल्लले पत्रकार सम्मेलनमा बताए।
एमाले सल्यानका कार्यवाहक अध्यक्ष भीमबहादुर सेनले धनबहादुरलाई आजै पार्टीको साधारण सदस्यबाट निस्कासन गर्न लागिएको बताए।
‘यस्तो अपराध गर्नेलाई पार्टीमा कुनै स्थान हुँदैन। म उनलाई साधारण सदस्यबाट निस्कासन गरिएको विज्ञप्ति निकाल्दै छु,’ सेनले सेतोपाटीसँग भने।