बुहारीको हत्या गरेको आरोपपछि फरार रहँदै आएका जेठाजु बिहीबार मृत फेला परेका छन् ।
आइतबार बिहान जिल्लाको शारदा नगरपालिका– १४ ढारखानी गाउँकी ४६ वर्षीया प्रमिला गिरी घर नजिकै धारिलो हतियारले घाँटी काटेको अवस्थामा मृत फेला परेकी थिइन्।
आफ्नै मकै बारीमा घाँस काट्न गएको समयमा उनको घाँटी रेटेर हत्या भएको थियो। घटनापछि प्रमिलाका जेठाजु ५४ वर्षीय वीरबहादुर गिरी फरार भएका थिए ।
हत्याको दिनदेखि सम्पर्कविहीन रहेका वीरबहादुर बिहीबार घर भन्दा झन्डै ४ किलोमिटर टाढाको खाली घरमा झुन्डिएर आत्महत्या गरेको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले सेतोपाटीलाई बताए।
उक्त घर वीरबहादुरकै दाजुको रहेको र उनीहरू हाल दाङको तुलसीपुरमा बस्दै आएको हुँदा खाली रहेको भन्ने खुलेको डिएसपी केसीले जानकारी दिए।
‘घटनापछि फरार व्यक्तिले आफ्नै दाजुको खाली घरलाई प्रयोग गरेको देखियो,’ उनले भने ‘ प्रहरीले बाहिरतिर खोजे पनि त्यहाँ कपडा ओछ्याएको र बसेको स्पष्ट देखियो ।’
घरको बार्दलीमा उनी झुन्डिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बिहीबार बिहानपख मात्रै फरार व्क्तिले आत्महत्या गरेको बताए ।
वीरबहादुरले यसअघि पनि बुहारी प्रमिलामाथि खुर्पा प्रहार गरेका थिए। कर्तव्य ज्यान उद्योगअन्तर्गत बुहारीले किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए।
डेढ वर्ष पूर्पक्षका लागि कारागारमा बसेका वीरबहादुर झन्डै ६ महिना पहिला मात्रै डेढ लाख धरौटीमा छुटेको डिएसपी केसीले बताए ।
पटक–पटक वीरबहादुरले बुहारी प्रमिलामाथि किन आक्रमण गर्दै आएका थिए भन्ने बारे प्रहरीले केही खुलाएको छैन। आपसी रिसिबीका कारण त्यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ। प्रमिलाका तीन छोरी छन् । दुई छोरीको बिहे भइसकेको र एक छोरी बाबु आमासँगै बस्दै आएको प्रहरीले जानकारी दिएको छ।
हत्या भएको दिन घाँस काट्न भनेर गएकी श्रीमती घर आउन ढिला गरेपछि खोज्न गएका श्रीमानले हत्या गरिएको अबस्थामा उनलाई फेला पारेका थिए ।
यो पनि-
घाँस काट्न गएकी प्रमिलाको हत्या
तीन दिन बित्दा पनि पक्राउ परेनन् प्रमिलाका हत्यारा