जितबहादुर विक आइतबार राति मस्त निद्रामा थिए। चिनजानका एक जना १३ वर्षीय बालक उनलाई राति साढे दस बजे उठाउन आए।
४१ वर्षीय जितबहादुर दाङको घोराही उपमहानगरपालिका – १३ सेवारको सप्तरंगी टोलमा कोठा भाडामा बस्दै आएका थिए।
सोही घरमा भाडा बस्ने एक महिलाले एक साताअगाडि ती बालक जितबहादुरसँगै बस्न आएको देखेकी थिइन्। चिनेका बालकले जितबहादुरलाई फुपाजु भन्दै ढोका ढकढक गरेपछि महिलाले मूल ढोका खोलिदिइन्। बालकले आफू त्यहीँ सुत्न आएको भने।
यसपछि जितबहादुरको कोठाको ढोका ढकढकाए। जितबहादुरले जसै ढोका खोले, अरू केही युवा जबरजस्ती घरभित्र छिरे। जितबहादुरलाई बलजफ्ती उठाएर लगे।
जितबहादुर एक्लै बस्थे। श्रीमती भारत र छोरा अर्कै देशमा छन्। उनीहरू बस्ने भाडाको घर एकान्तमा छ।
जितबहादुरलाई जबरजस्ती लगेपछि ढोका खोलिदिने महिला र त्यही घरमा भाडामा बस्ने अरू महिलाहरू कराए। गुहार मागे। अलि नजिकका घरका मानिसहरू पुगे। जितबहादुरलाई लगेको केही समय भइसकेको थियो। करिब १८ मिनेटपछि प्रहरीलाई फोन गरे। जितबहादुरको अपहरण भएको जानकारी दिए।
केही बेरमै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमको कमान्डमा प्रहरी टोली घटनास्थल पुग्यो। महिलाहरूसँग प्रहरीले सोधपुछ गर्दा अटोरिक्सामा राखेर जितबहादुरलाई एक समूहले अज्ञात स्थलतर्फ लगेको बताए।
प्रहरीले रा १ ह ४१३१ नम्बरको अटोरिक्सा प्रयोग भएको र उक्त अटोरिक्सा दीपक सुनारको भएको पत्ता लगायो। यसपछि प्रहरी फेरि फर्किएर भाडामा बस्ने तिनै महिला कहाँ थप सूचना संकलनका लागि पुग्यो।
उनले जितबहादुरलाई बोलाउने बालकबारे थाहा पाएजति जानकारी दिइन्। बोलाउँदा सुनेको नाम प्रहरीलाई बताइन्। बालक जितबहादुरकै गाउँका हुन् भन्ने पनि महिलालाई थाहा थियो।
बालक घोराही– १९ थकालीकोटका भएको प्रहरीले पत्ता लगायो। राति नै एक जना वडा सदस्यलाई फोन गरेर बालकको पहिचान गरियो। अटोरिक्सा धनी ३२ वर्षीय दिपक पनि थकालीकोटकै भएकाले प्रहरी राति साढे ३ बजेतिर दिपकको घर पुग्यो। दीपक र ती बालक त्यहीँ फेला परे। बन्द कोठाभित्र अचेत अवस्थाका जितबहादुर लम्पसार सुताइएका थिए।
जितबहादुरको दुवै कान र नाकमुखबाट रगत बगिरहेको थियो। अनुहार बेस्सरी सुन्निएको थियो। उनीमाथि सबै मिलेर कुटपिट भएको थियो।
प्रहरीले जितबहादुरको तत्काल उद्धार गर्यो। दीपक र बालकलाई नियन्त्रणमा लियो। त्यसपछि जितहादुरलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइयो।
जितबहादुर, दीपक र बालकबीच नजिकको नाता सम्बन्ध रहेको प्रहरीले बताएको छ।
अनुसन्धान क्रममा स्थानीय २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्ती मगर, अर्का एक युवक र अर्का पनि १३ वर्षे बालक जितबहादुरलाई जबरजस्ती उठाएर लैजाने काममा संलग्न रहेको देखियो।
सोमबार बिहान १० बजे थकालीकोट गाउँमा पुगेको प्रहरीले अन्य पाँच जना आरोपितलाई एकपछि अर्को गर्दै नियन्त्रणमा लिन सफल भयो।
जिल्ला अदालतले दुई बालकसहित पक्राउ परेका सात जनालाई पाँच दिन प्रहरी हिरासतमा राखेर घटना अनुसन्धान गर्न सोमबार नै म्याद थपिदिएको छ। प्रहरीका अनुसार उनीहरूविरूद्ध अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने तयारी छ।
सुतिरहेका जितबहादुरलाई कोठाबाट उठाउने मुख्य योजनाकार दीपक भएको देखिएको छ। उनले अरू ६ जनालाई भनेर आफ्नै अटोरिक्सा प्रयोग गरी जितबहादुरलाई लगेको र गाउँ पुर्याएर सबै मिली कुटपिट गरेको कुरा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए।
जितबहादुरमाथि दिपकले आफ्नो २० हजार रूपैयाँ चोरी गरेको अभियोग लगाएका छन्। यसबारे अनुसन्धान हुन बाँकी रहेको डिएसपी गौतमले जानकारी दिए।
उनका अनुसार जितबहादुरको स्वास्थ्य सुधार हुँदै अलिअलि बोल्न सक्ने भएका छन्। उनीसँग सोधपुछ हुन बाँकी छ।
'जितबहादुरले चोरी गरेकै भए पनि त्यसबारे प्रहरीमा कुनै सूचना वा जाहेरी परेको छैन,' डिएसपी गौतमले भने, ‘चोरी गरेको भए जितबहादुरविरूद्ध कानुनी उपचार गर्ने बाटो छँदाछँदै कानुन हातमा लिएर अपहरण शैलीमा राति उठाएर लैजानु र निर्मम ढंगले कुटपिट गर्नु कानुन बर्खिलाप ठहर्छ।'
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।