‘भ्यु टावर’ का नाममा दाङमा भएको खर्च औचित्यहीन साबित भएको छ। पर्यटन प्रवर्द्धन गर्न भन्दै लाखौँ/ करोडौँ खर्चेर पहाडमा बनाइएका भ्यु टावरहरू अलपत्र परेका छन्। स्थानीयवासीमा यस्ता भ्यु टावरप्रति कुनै अपनत्व वा चासो देखिँदैन। दृश्यावलोकनका लागि कोही पनि नजाने भएपछि भ्यु टावर निर्माणको औचित्य पुष्टि हुन सकेको छैन।
दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा बनाइएका तीनवटा भ्यु टावर अलपत्र छन्। वडानम्बर ८ को हाँसिपुर, वडा नम्बर २ को धिमधिमे लेक र वडा नम्बर ५ को बंगलाचुलीमा टावर बनाइएका छन्।
ती टावर बनाउन गाउँपालिकाले दुई करोड रूपैयाँभन्दा बढी खर्च गरेको थियो। बंगलाचुलीका युवा बलदेव मल्लका अनुसार यी अग्ला पहाडमा भ्यु टावर बनाउनुको कुनै औचित्य थिएन।
‘तराई क्षेत्रमा आवश्यक हो कि होइन त्यो म भन्न सक्दिनँ तर पर्यटन प्रवर्द्धन भनेर हाम्रो जस्तो पहाडमा भ्यु टावर बनाउन पैसा खर्च गर्नेहरू महामुर्ख हुन्,’ उनले भने।
शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताको स्तरीकरण गर्दै अघि बढ्नुपर्नेमा आफ्नो पालामा काम देखाउने प्रवृत्तिले भ्यु टावरका नामका अनावश्यक संरचना खडा भएको उनको ठहर छ।
‘स्थानीय सरकार प्रमुखहरूले स्थानीय आवश्यकताहरू प्राथमिकीकरण गरेर सर्वसाधारणको जीवन सहज बनाउन काम गर्नुपर्ने थियो,’ विनोदले भने, ‘भ्यु टावरको लहड चलाए अनावश्यक ढंगले पैसा खर्च गर्ने काम भयो। त्यसको औचित्य पुष्टि भएन।’
तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लिकोटको पहाडमा २५ लाख रूपैयाँ लागतमा बनेको भ्युटावर पनि अहिले अलपत्र छ।
उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार छिल्लिकोटको भ्यु टावर सञ्चालन तथा रेखदेखको जिम्मा स्थानीयवासीलाई दिइएको छ। रेखदेखका लागि समिति बनाइएको छ।
‘हालसम्म समितिले भ्यु टावरको आम्दानी भएको भनेर हिसाब दिएको छैन। कमाइ भएको छैन भनेको छ,’ उनी भन्छन्, ‘पहाडका भ्यु टावर चढ्न कसैले पनि रुचि देखाएको छैन भन्ने समितिको कुरा छ।’
स्वास्थ्य सेवा, सडक, खानेपानी जस्ता आधारभूत सेवाको अभाव झेल्दै आएका पहाडी क्षेत्रका बासिन्दामा भ्यु टावर बनेकोमा कुनै उत्साह देखिँदैन।
‘हाम्रा लागि यो भ्यु टावर कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तै हो,’ स्थानीयवासी विनोद रोका प्रश्न गर्छन्, ‘भ्यु टावरभन्दा अग्ला त यहाँका पहाड नै छन्, के हेर्न यिनमा चढ्नु, यिनको के अर्थ छ?’
जनताबाट कर उठाएर हचुवाका भरमा भ्यु टावरका नाममा लाखौं रूपैयाँ सिध्याउनु मूर्खताबाहेक केही मान्न नसकिने उनको तर्क छ। उनको विचारमा लहडका यसरी लाखौं रूपैयाँ खर्च गर्नु चरम अदूरदर्शिताको नमूना पनि हो।
‘यस्ता अनावश्यक निर्माणले हाम्रो लहडी विकासको मोडेल उदांगो पारेको छ,’ विनोदले भने, ‘कुनै आवश्यकता र योजनाबिना हचुवाका भरमा बनाइएका भ्यु टावरको औचित्य पुष्टि भएन।’
लमही नगरपालिका–५ को अजम्बरी सामुदायिक वन हाताभित्र झन्डै साढे दुई करोड रूपैयाँ खर्च गरेर पाँच तले भ्यु टावर खडा गरिएको छ। त्यसमा नगरपालिकाको बजेट खर्च भएको छ।
टावरले एक रूपैयाँ पनि आम्दानी गरेको छैन। टावरको अन्तिम निर्माण पनि पूरा भएको छैन। यो भ्यु टावर निर्माण सुरू भएको सात वर्ष भएको छ। रङरोगन लगायत अन्तिम चरणको काम बाँकी छ। अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले आफू अध्यक्ष पदमा आउनुभन्दा अघि नै भ्यु टावर निर्माण सुरु भएको तर अझै काम पूरा नभएको बताए।
उनले भने, ‘फिनिसिङको काम बाँकी छ। त्यति धेरै पैसा खर्च भएको भ्यु टावरले एक रूपैयाँ पनि कमाइ गर्न सकेको छैन।’
उनका अनुसार अग्ला पहाडमा भ्यु टावर आवश्यक छैन।
‘मेरो विचारमा यहाँ (सामुदायिक वनमा) भ्यु टावर आवश्यक नै थिएन। त्यति धेरै पैसा खर्च भएको छ, अब यो संरचना कसरी उपयोग गर्ने भनेर सोच्नुपर्ने भएको छ। भ्यु टावरको सट्टा लमहीमा एउटा अस्पताल बनाएको भए राम्रो हुन्थ्यो,’ उनले भने।
आवश्यकता र औचित्यबिना पैसा खर्च गर्नु उचित थिएन भन्ने कुरा लमहीमा अलपत्र भ्यु टावरहरूले पुष्टि गरेको उनको भनाइ छ।
दाङकै तुलसीपुर उपमहानरपालिका–११, सुकौरास्थित प्राचीन थारु राजा दंगीशरणको दरबार क्षेत्रमा झन्डै ५० लाख रुपैयाँ खर्च गरेर भ्यु टावर बनाइएको छ।
तत्कालीन सांसद बुद्धिराम भण्डारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ र प्रदेश सरकारको बजेटबाट उक्त भ्यु टावर बनेको हो।
निर्माणको केही काम अझै बाँकी छ। टावरले एक रुपैयाँ पनि कमाइ गरेको छैन।
भ्यु टावरका नामका यी संरचना संरक्षण गर्ने ठोस योजना पनि छैन। यी संरचना करिब अलपत्र अवस्थामा रहेको स्थानीयवासीहरू बताउँछन्।
संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन भएपछि २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधिहरूले केही स्थानीय तहमा भ्यु टावर निर्माण गराएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन प्रवर्द्धनका लागि भन्दै भ्यु टावर निर्माण गर्न प्रेरित गरेका थिए।
नाम सार्वजनिक नगर्ने शर्तमा तुलसीपुर उपमहानगरपालिकाका एक जना पूर्ववडाध्यक्षले देशैभर भ्यु टावर बनाउने लहर चलाउनु गलत थियो भन्ने पुष्टि भएको बताए।
‘पर्यटन प्रवर्द्धनका बहानामा अर्थहीन भ्यु टावर निर्माणको लहड कदापि सही थिएन,’ ती पूर्ववडाध्यक्षले भने, ‘करोडौं रूपैयाँ खर्च भयो तर लाभ लिन सकिएन।’
भ्यु टावरको औचित्य नदेखिएकै कारण सर्वसाधारणबाट विरोध सुरू भएको उनले बताए। विरोधकै कारण तुलसीपुर उपमहानगरपालिका–९ मा भ्यु टावर निर्माण राकिएको छ। उनका अनुसार हाल त्यस्तो अनुचित निर्माणको काम बन्द हुनु सकारात्मक छ।