दाङको तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरास्थित गणपति आयल मिलमा मध्यराति आगलागी भएको छ।
यो तुलसीपुरको एक चिरपरिचित र पुरानो तेल मिल हो। आगलागीबाट झन्डै दुई करोड क्षती भएको मिल संचालक हिमाल बस्नेतले जानकारी दिए।
राति २ बजे घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने बताए।
क्षतीको विवरण संकलन हुन बाँकी रहेको भएपनि झन्डै दुई करोडको हाराहारीमा धनमाल जलेर क्षती भएको हुन सक्ने आशंका गरिएको बताए।
तेल मिलमा बिहान १ बजे आगोको मुस्लो देखिएको थियो।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीय पानी बोक्ने ट्यांकरहरूले पानी ओसारेका थिए। झन्डै तीन घन्टाको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ। समयमै पानी पाएको भए क्षती कम हुने सम्भावना थियो।
दमकललाई पानी खोज्नै सकश
तुलसीपुरको बसपार्क हुँदै पातुखोला बगिरहेको छ। पूर्वमा ग्वारखोलामा पनि पानी यो सिजनमा कमी छैन। गौरीगाउँ, कटाँहा, पढ्ढा वा बरुवा गाउँले कुलोहरुमा पनि आजकल पानीको अभाव छैन।
तर, रातभर दमकल पानी खोजीरह्यो। दमकल साइरनसहित पानीको खोजीमा कहिले यता, कहिले उता दौडिएको थियो। जसले गर्दा रातमा प्राय शान्त रहने गौलाराका स्थानीयको निन्द्रा समेत खलबलिएको थियो। मध्यराति दमकलको चर्को साइरनले मानिसहरु बिउँझिएका हेर्दा तेलमिलमा ठूलो आगो बलिरहेको देखेका थिए।
पानी बेच्ने डिपबोरिङ संचालकहरु पनि रातिमा बन्द हुने हुँदा दमकललाई पानी पाउनै गाह्रो भएको थियो।
पानी बेच्ने डिपबोरिङ संचालकसमेत रहेका स्थानीय सुनिल लामिछाने २ बजे घरबाट आएर जलसेवा पुगेपछि मात्रै दमकलमा पानी भर्न सम्भव भएको थियो।
तेल मिलमा आगलागी भएसंगै विद्युतसमेत काटिएको र जेनेटरबाट पानी भर्ने व्यवस्था सबै ठाउँमा नभएकाले समयमै दमकलले पानी भर्न सकेको थिएन।
लामिछानेले आफ्ना पानी बोक्ने ट्यांकर पनि आगो निभाउनका लागि पानी पठाएका थिए।
काम लागेन कमल पोखरी
तेल मिलदेखि राजौरास्थित कमल पोखरी किलोमिटर भन्दापनि नजिकको दूरीमा छ। यूएसएआइडीको तयार नेपाल लगायत स्थानीय र प्रदेश सरकारबाट समेत करौडौं रकम खर्चेर तालमा पक्की संरचना निर्माण गरिएको छ।
विपदको समयमा दमकलमा पानी भर्न सहज होस भनेर तयार नेपालले मात्रै पौनै करोड लगानी गरेको थियो। ताललाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश र स्थानीय सरकारले पनि लगानी थपेर तालको वरपर पर्खाल र पक्की संरचना निर्माण गरेको थियो।
तर, भदौको आधा महिना बित्दासमेत तालमा एक थोपा पानी छैन। यसको प्राकृतिक स्वरुपमा रहँदासम्म तालमा भरिभराउ पानी हुन्थ्यो। साउन भदौ महिनामा पनि तालमा एक थोपा पानी नभएपछि ताल राम्रो बनाउने नाममा तालको अस्तित्व नै संकटमा परेको भन्दै आलोचना हुन थालेको छ।
दुई वर्ष पहिले मात्रै तुलसीपुरको एक जुत्ताचप्पल गोदममा आगलागीमा परि पाँच जनाको मृत्यु भएको थियो। त्यतिबेला पनि दमकल पानीको खोजीमा रातभर भौंतारिएको थियो।
सबै तस्बिरः नारायण खड्का/ सेतोपाटी