नौ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा पक्राउ परी बर्दिया जिल्ला अदालतमा लग्दा हतकडीसहित भागेका व्यक्ति फेरी बर्दिया कारागारबाट भागेका छन्।
आइतबार बिहान ठाकुरबाबा नगरपालिकाका अजित बुढा क्षेत्री कारागारबाटै फरार भएका हुन्। उनी उक्त कारागारका भाइ नाइके समेत हुन्।
कारागारका नाइके, भाइ नाइकेहरूलाई अरू कैदीबन्दी भन्दा छुट्टै सुविधा हुन्छ। अरू कैदीबन्दीहरूसँग नभई बस्ने सुविधा पनि छुट्टै हुन्छ। उनीहरूलाई हतकडी पनि लगाइएको हुँदैन।
२०७१ साल चैतमा ठाकुरबाबा नगरपालिका-८ का १८ वर्षीय अजितले ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका थिए।
त्यतिबेला पक्राउ परेपछि अजितलाई जिल्ला अदालतमा लगिएको थियो। तर उनले प्रहरीलाई झुक्याएर हतकडीसहित भागेका थिए।
उनलाई बर्दिया अदालतले कर्तव्य ज्यान मुद्दा र फरार भएको भन्दै ३० वर्ष काराबासको सजाय सुनाएको थियो।
त्यतिबेला फरार भएका उनी आठ वर्ष भारतमा लुकेर बसेका थिए।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार फरार अजित करिब ११ महिना पहिले मात्रै पक्राउ परेका थिए।
गाउँमा आएको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेको ११ महिनामै उनी अप्रत्यासित रूपमा जिल्ला कारागारका भाइ नाइके भए।
यही बीचमा बर्दिया जिल्ला कारागारबाट उनी भागेका हुन्।
कारागार भित्रको एउटा सानो घरमा चढेर १६ फिट अग्लो पर्खालबाट हामफालेर भागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले सेतोपाटीलाई बताए।
‘सबै सुतेको समयको फाइदा उठाउँदै बिहान साढे तीन बजेतिर पर्खालबाट हामफालेर भागेको देखिएको छ,’ उनले भने।
प्रहरीले फरार भएका अजितको खोजी गरिरहेको उनले बताए। जिल्लाका अधिकांश प्रहरी परिचालन गरिएको छ।
भारत प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरीले जनाएको छ।
सजाय भुक्तानका क्रममा कुनैपनि कैदीबन्दी भागे र पछि पक्राउ परे उनीहरूका हकमा थप सजाय हुने कानुनी व्यवस्था छ।