कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बर्दिया कारागारका ‘भाइ-नाइके’ भागेको घटनामा छानबिन समिति गठन भएको छ।
आइतबार बिहान साढे ३ बजे बर्दिया कारागारका भाइ-नाइके ठाकुरबाबा नगरपालिका–८ का ३० वर्षीय अजित बुढा क्षेत्री पर्खालबाट हाम्फालेर भागेको घटनामा छानबिन गर्न समिति बनाइएको हो।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको छ।
समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा सम्मिलित समिति गठन भएको हो। समितिले आइतबारदेखि नै काम सुरू गरिसकेको संयोजक अर्यालले बताए।
‘प्रतिवेदन बुझाउने समय तोकिएको छैन। चाँडो छानबिनको प्रतिवेदन तयार पारी बुझाउने भन्ने छ,’ उनले भने।
कारागारबाट भागेका भाइ नाइके क्षेत्रीलाई प्रहरीले ११ महिना अघिमात्रै पक्राउ गरेको थियो। उनले २०७१ साल चैतमा ६९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। पक्राउ परी अदालतमा उपस्थित गराउँदा उनी अदालतबाटै हतकडीसहित फरार भएका थिए।
त्यस कसुरमा उनलाई ३० वर्ष जेल सजाय सुनाएको थियो। तर आठ वर्षसम्म उनी भारतमा लुकेर बसेका थिए।
करिब ११ महिना पहिले मात्रै गाउँमा घर आएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए।
‘घटनाक्रम सरसर्ती नियाल्दा यतिखेर जेल प्रशासनको कमिकमजोरी गर्यो कि भन्ने जस्तो देखिएको छ,’ उनले भने, ‘यो घटनामा कसैको मिलेमतो छ कि छैन भन्ने कुरा छानबिन समितिले स्पष्ट गर्ला।’
एक वर्ष पनि जेल सजाय नकाटेका र पहिले पनि भागिसकेका व्यक्तिलाई कारागार प्रशासनले भाइ-नाइके बनाएर लापरबाही गरेको देखिएको प्रहरीको भनाई छ।
कारागारका नाइके वा भाइ नाइकेहरूलाई अरू कैदीबन्दी भन्दा अलग सुविधा हुन्छ। अरू संगै नराखी छुट्टै घरमा बाहिर खुल्ला बस्न पाउने सुविधा हुन्छ। उनीहरूलाई हतकडी पनि लगाइँदैन। त्यसैको फाइदा उठाउँदै जिल्ला कारागार भित्रको एउटा सानो घरको छतमा चढेर अजितले १६ फिट अग्लो पर्खालबाट हामफालेर भागेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले बताएका थिए।
प्रहरी उनको खोजीका लागि जिल्लामा उपलब्ध अधिकांश प्रहरी परिचालन गरेको छ। छिमेकी देश भारतसँग पनि समन्वय भइरहेको हुँदा फरार व्यक्ति छिट्टै पक्राउ पर्ने प्रहरी अधिकारीको विश्वास छ। सजाय भुक्तानका क्रममा कुनैपनि कैदीबन्दी भागे र पछि पक्राउ परे उनीहरूका हकमा थप सजाय हुने कानुनी व्यवस्था छ।