चार दिनअघि बर्दिया कारागारबाट मध्यराति पर्खाल नाघेर भागेका ३० वर्षीय ‘भाइ नाइके’ अजित बुढा क्षेत्री अझै फेला परेका छैनन्।
नेपाल-भारतको सीमा क्षेत्रमा रहेको जंगलमा देखिएको भनेपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेको अजित दुई दिनदेखि जंगलमा हुनसक्ने सूचना प्राप्त भएको बताए। सूचनाको आधारमा प्रहरीले उनको खोजी थाले पनि उनी अझै पक्राउ पर्न सकेका छैनन्।
डिएसपी हिक्मतबहादुर बोहोराले भारतीय सुरक्षाकर्मीले फरार रहेका अजितबारे बोर्डरको जंगल क्षेत्रमा देखेको सूचना दिएपनि आफूहरू पुग्दा फेला पार्न नसकेको बताए।
‘हामीलाई हिजो पनि सोही सूचना आयो र हामी त्यहाँ पुग्दा झन्डै आधा घन्टा लाग्यो,’ डिएसपी बोहोराले भने, ‘ढिलो पुग्दा फेरि कतै भाग्न सफल भयो।’
जेलबाट भागेको चार दिन भएपनि उनी भारत नपुगेको प्रहरीको भनाई छ।
‘ठूलो वन जंगल रहेको हुँदा उ हाल सम्म लुक्न सफल भएको हो,’ डिएसपी बोहोराले भने।
फरार रहेका अजितको खोजी तीब्र गतिमा भइरहेको र छिट्टै पक्राउ पर्ने विश्वास प्रहरी अधिकारीहरूको छ।
सम्बन्धित समाचार: कारागारबाट भागेका 'भाइ नाइके' खोज्न साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन
बर्दिया कारागारका 'भाइ-नाइके' भागेपछि छानबिन समिति गठन
९ वर्ष पहिले अदालतबाट भागेका ‘भाइ-नाइके’ फेरि फरार