बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ।
भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेका अजिबविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको बताए। त्यसका लागि आवश्यक आग्रह गरिसकेको उनले बताए।
रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई जुन देशमा फेला परेपनि पक्राउ गर्न सकिनेछ।
फरार रहेका अजिब नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंका गरिएको थियो। उनलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गरिरहेको छ। तर अझै फेला पर्न सकेका छैनन्। खोजी गर्नेक्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको छ।
‘भारतीय सुरक्षाकर्मीबाट फरार कैदी खोज्न सायदै अहिले सम्म यत्तिको सहयोग भएको थिएन होला,’ एसपी शाहीले भने, ‘वन जंगल र भौगोलिक परिस्थितिले हाम्रो प्रयास हालसम्म सफल हुन सकिरहेको छैन।’
पछिल्लो समय प्रहरी अधिकारीहरूले फरार अजिब भारत पुगेर लुकेर बसेको हुनसक्ने अनुमान गरेका छन्।
जिल्ला कारागारका ‘भाइ नाइके’ अजिब फरार भएपछि त्यसबारे छानबिन गर्न गठिन समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ। बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा अजिब जेलको पर्खाल नाघेर भागेकै दिन पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।
समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा थिए।
यो समितिले बुझाएको प्रतिवेदनमा कारागारका प्रमुख सन्तोष बिक, ड्युटीमा खटिएका सईसहित चार जना प्रहरीलाई विभागीय कारबाहीको मागसहित गृह मन्त्रालयमा पत्राचार भएको छ।
‘समितिले बुझाएको प्रतिवेदनमा कारागारको सुरक्षामा लापरवाही अर्थात कमजोरी भयो भन्ने कुरा औंल्याइएको छ,’ एसपी शाहीले भने, ‘त्यही आधारमा कारागार अधिकृतसहित डिउटीमा रहेका चार जना प्रहरीलाई विभागीय कारबाहीको लागि हामीले गृह मन्त्रालयमा सिफारिस गरेका हौं।’
जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले भदौ २० गते फरार रहेका अजिबको हुलिया सार्वजनिक गर्दै सूचना दिएर सहयोग गर्न आग्रह गरेका थिए।
प्रहरीले जारी गरेको उनको हुलियामा दाहिने हातको नाडी नजिक सानो पेस्तोलको ट्याटु र दाहिने छातीको माथिल्लो भागदेखि कुमसम्म डमरूको ट्याटु रहेको उल्लेख छ। अन्दाजी ५ फिट ७ इन्चका उचाइ भएका अजिब बोल्ने क्रममा हिन्दी लबजमा नेपाली बोल्ने गरेको कुरा उल्लेख छ।
अजिबले २०७२/११/०५ गते बेलुकी ५९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए। उक्त अभियोगमा प्रहरीले पक्राउ पछि अजिबलाई अदालतमा बयान गराउन लग्दा २०७२ चैत ३० गते प्रहरीलाई झुक्याउँदै अदालत परिसरबाटै भाग्न सफल भएका थिए। त्यति खेर शौचालय जाने बाहानामा हतकडी खोल्न लगाइ उनी शौचालयबाटै भाग्न सफल भएका थिए।
सुरूमा जिल्ला अदालतले हत्या कसुरमा दोषी ठहर गर्दै अजिबविरूद्ध १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला तोकेको भएपनि उनी भागेपछि त्यसमा टेडी सजाय थपिन गइ भागेको समेत सजाय जोडेर अदालतले ३० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
अदालतबाट फरार अजिब पछिल्लो समय २०७९ साल कात्तिक २१ गते ठाकुरबाबा नगरपालिका-८ सुतैयास्थित उनकै घरबाट गोप्य सूचनाका आधचारमा पक्राउ गरेको थियो।
उनी चाड पर्व मान्न घरमा आएको सुराक पछि प्रहरी घरमै पुगेर उनलाई पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले अजिबलाई अदालतमा पेश गरेको थियो।
अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि अजिबलाई जिल्ला कारागारमा पठाइएको थियो। तर, आश्चर्यजनक रूपमा उनी जेल चलान भएको छोटो समयमै कारागारको ‘भाइ नाइके’ अर्थात ‘पानी नाइके’ भइसकेका थिए। जसलाई धेरै प्रहरी अधिकारीले आजपनि अश्वभागिक मान्ने गर्छन्।
कारागारका चौकीदार, नाइके र भाइ नाइके लगायतलाई अरू कैदी बन्दी भन्दा छुट्टै सेवासुविधा हुने गर्छ। उनीहरू अरू कैदीबन्दीसँग बस्नुपर्दैन। छुट्टै ठाउँमा बस्न पाउँछन्। उनीहरूलाई हतकडी पनि लगाइँदैन। कारागारको कम्पाउन्डभित्र उनीहरूलाई सहज आवात जावात गर्न पाउने सुविधा हुने गर्छ।
सोही सुविधाको दुरूपयोग गर्दै अबिज फेरि पनि कारागारबाट हाम्फालेर भागेका हुन्।