स्रोत नखुलेको रकम फेला परेपछि नेपालगन्ज विमानस्थलका कर्मचारीको आँखा छलेर भागेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका अर्का एक कर अधिकृत पनि प्रहरीको सम्पर्कमा आएका छन्।
कर अधिकृत खगेन्द्र सापकोटाबाट सोमबार बिहान स्रोत नखुलेको २६ लाख रकम फेला परेको थियो। उनीसँगै यात्रा गरिरहेका अर्का अधिकृत दीपक पौडेल भागेका थिए। कर अधिकृत पौडेल प्रहरीको सम्पर्कमा आएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले सेतोपाटीलाई बताए।
‘केहीबेर अगाडि हामीले पौडेललाई फोन गरेका थियौं र उहाँसँग कुरा भएको छ,’ एसपी राठौरले भने, ‘उहाँले केही बेरमा आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा आउँछु भन्नुभएको छ।’
त्यसअघि विमानस्थलबाट फरार कर अधिकृत पौडेल सम्पर्कबिहीन थिए। पछिल्लो समय भने उनी सम्पर्कमा आएको र आफैं प्रहरी कार्यालयमा आउने बाचा गरेको एसपी राठौरले बताए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो।
चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको २६ लाख रकम भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
‘स्क्यानिङ मेसिनबाट चेकजाँच गर्ने क्रममा सापकोटाको झोलामा लाखौं रकम फेला परेपछि सुरक्षाकर्मीले उहाँलाई सोधपुछ गर्ने क्रममा केही पछाडि रहेका पौडेल सुटुक्क निस्किएर भाग्न सफल हुनुभएको रहेछ,’ डिएसपी डाँगीले भने, ‘उहाँ केही पछाडि रहेको हुँदा प्रहरीले पनि उहाँहरू सँगसँगै आएका कर्मचारी र साथीहरू हो भन्ने भेउ पाउन नसक्दा उहाँ उम्कन सफल भएको भन्ने छ।’
कर अधिकृत पौडेल उम्किन सक्ने अवस्था पनि नरहेको उनले बताए। प्रहरी कार्यालयमा हाजिर नभए खोजेर पक्राउ गरिने प्रहरीको भनाई छ।
‘एउटा राष्ट्र सेवक कर्मचारी भाग्न नसुहाउने कुरा हो,’ डिएसपी डाँगीले भने, ‘हामीलाई विश्वास छ उहाँ बाचा गरे अनुसार प्रहरीमा आफैं आउनु हुनेछ र अनुसन्धानमा सघाउनु हुने छ।’
यो पनि: अनुगमनबाट फर्किएपछि घर बिदा मागेका थिए विमानस्थलमा पक्राउ परेका कर अधिकृतले