'कार्वपेनम' भनेको धेरै किसिमका जिवाणुहरूलाई मार्ने एन्टिबायोटिकको समूह हो। यो एन्टिबायोटिक विकासको इतिहासमा निकै पछि विकास भएको एउटा समूह हो।
नेपालमा विशेष गरेर सबभन्दा जटिल किसिमका संक्रमणहरूमा कार्वपेनम अन्तिम अस्त्र जस्तै हो।
नेपालमा समग्र रूपमै एन्टिबायोटिकको जथाभावी प्रयोग भइरहेको छ। अलि पुरानो एन्टिबायोटिक अथवा अलि सानो समूहका ब्याक्टेरिया मार्ने एन्टिबायोटिकदेखि कार्वपेनम जस्तो फराकिलो समूहका एन्टिबायोटिकको गलत तरिकाले प्रयोग भइरहेको छ। योमध्ये कार्वपेनमलाई हामीले अनावश्यक प्रयोग गर्यौं भने यसप्रति ब्याक्टेरियाले प्रतिरोधी क्षमता बनाउँछ। यसबाहेक थुप्रै एन्टिबायोटिकका समूहहरू छन्। तिनले पनि काम नगर्ने सम्भावना बढी हुन्छ।
अहिले नै हामी कस्तो अवस्थामा छौं भने, कहिलेकाहीँ बिरामीलाई भएको संक्रमण निको पार्ने एन्टिबायोटिक नेपालमै पाइँदैन। किनभने, नेपालमा उपलब्ध भइसकेको सबै एन्टिबायोटिकको प्रतिरोध गर्न सक्ने क्षमता भएका ब्याक्टेरिया भइसकेको हुन्छ। कार्वपेनमलाई हामीले जथाभावी प्रयोग गर्यौं भने त्यस्तो खालको ब्याक्टेरिया झन् धेरै जन्मिने हुन्छ।यसकारण बिरामीलाई निको बनाउन नसक्ने अनि मृत्यु हुने खतरा हुन्छ।
त्यस्तै शल्यक्रिया गर्दा समेत असर पर्छ। शल्यक्रिया गर्दा संक्रमण हुन्छ तर एन्टिबायोटिकले काम गरेन भने के गर्ने? क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा समेत जटिलता आउन सक्छ।
एन्टिबायोटिक चाहिने बेलामा मात्रै प्रयोग हुन पर्छ। बिरामीलाई ज्वरो आयो, स्याँस्याँ भयो, घाँटी दुख्यो भने तत्कालै एन्टिबायोटिक दिने गरिन्छ। रूघाखोकी लागेको बेलामा एन्टिबायोटिक चाहिँदैन। ब्याक्टेरियाको संक्रमण भयो भने मात्र एन्टिबायोटिक चाहिन्छ।
जुन किसिमको ब्याक्टेरियाले समस्या पारेको छ, त्यसलाई मार्ने एन्टिबायोटिक मात्र प्रयोग हुनुपर्छ। जस्तै, निमोनिया हुँदा निश्चित किसिमका किटाणुले मात्र असर गर्छ। कसैलाई ब्याक्टेरियाको संक्रमण भएर पखाला लाग्यो भने निश्चित किसिमका ब्याक्टेरियाको मात्रै संक्रमण हुन्छ। त्यसलाई प्रयोग गर्ने एन्टिबायोटिक निश्चित दायराका हुन्छन्।
निश्चित किसिमको किटाणुलाई मार्न सक्ने खालको एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। अनि सही मात्रा प्रयोग गर्नुपर्छ। चाहिनेभन्दा थोरै प्रयोग भयो भने किटाणु मर्दैन, बरू थप बलियो हुन पुग्छ। किटाणु जिस्किन पुग्छ।
धेरै बढी डोज दिइयो भने बिरामीलाई हानी पुग्छ। तीन दिनको एन्टिबायोटिकले किटाणु मर्छ तर सात दिन प्रयोग भयो भने थप हानी गर्छ। मुखबाट खाने एन्टिबायोटिक छ भने नसाबाट दिनु हुँदैन। अर्थात् एन्टिबायोटिक दिने रूट पनि सही प्रयोग हुनुपर्छ। कार्वोपनेममा पनि यही सिद्धान्त लागू हुन्छ।
सकेसम्म कार्वपेनमभन्दा कम दायरा भएका एन्टिबायोटिकले काम चल्छ भने यसको प्रयोग गर्न हुँदैन। ब्याक्टेरियाको एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास नहोस् भनेर यस्तो गर्नुपर्छ। सम्भव भएसम्म पुरानो जेनेरेसनको एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। यदि बिरामीलाई कार्वपेनमभन्दा कम शक्तिशाली एन्टिबायोटिकले काम गरेन भने मात्रै यसकै प्रयोग गर्ने हो।
एन्टिबायोटिक भनेको डाक्टरको प्रेसक्रिप्सनमा मात्रै दिनुपर्ने हो। तर हामीकहाँ प्रेसक्रिप्सन बिनै एन्टिबायोटिकको बिक्री-वितरण हुन्छ। रूघा लाग्दासमेत एन्टिबायोटिक खाने चलन छ जुन एकदमै गलत हो।
नेपालमा उपलब्ध कार्वपेनम इन्जेक्सनका रूपमा मात्रै छ। यसको बिक्री-वितरणका लागि सरकारले लाइसेन्स दिनुपर्छ
कार्वपेनम जटिल खालको एन्टिबायोटिक भएकाले सिधै चक्कीका रूपमा पाइँदैन। भारत लगायतका केही देशमा मुखबाट खाने चक्कीको प्रयोग व्यापक रूपमा भइरहेको छ जुन एकदमै गलत हो। नेपालमा पनि कतिपयले यसलाई ल्याएर बेचेका छन्। त्यसैले हामी अलि बढी सतर्क हुनुपर्छ।
नेपालमा फार्मेसीबाटै सजिलै एन्टिबायोटिक बिक्री हुने गरेको छ। फार्मेसीमा बसेको व्यक्ति फार्मेसिस्ट हुन पनि सक्छ र नहुन पनि सक्छ। अर्कोतिर हामी चिकित्सकले रूघाखोकी र एलर्जी भएका बेलामा समेत एन्टिबायोटिक लेखिदिने गरेका छौं। कतिपयले अस्पताल भर्ना हुनासाथ एन्टिबायोटिक चलाइदिने गलत काम गरिरहेका छन्। अपरेसन गर्ने बेलामा एक-दुई डोज दिनुपर्ने हुन्छ। तर फ्र्याक्चर भएर जान साथ पनि एन्टिबायोटिक दिने गरिन्छ जुन गलत हो।
एन्टिबायोटिकको गलत प्रयोग रोक्न के गर्ने त?
पहिलो कुरा त चेतना नै महत्त्वपूर्ण हो। यो चेतना हामी आमनागरिक समुदाय, चिकित्सक, स्वास्थ्यकर्मी, फार्मेसिस्ट, औषधि कम्पनी, सबैमा आउन जरूरी छ। यसका केही ठूला ठूला आयामहरू छन्। एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका ब्याक्टेरियाका कारण जनस्वास्थ्यमा संकट आउने खतरा बढेको छ। अहिले पनि ठूलै संकट आइसकेको छ।
एन्टिबायोटीक प्रतिरोधी क्षमता भएका ब्याक्टेरियाका कारण बिरामीको मृत्यु हने संख्या बढिरहेको छ।
सन् २०१४-२०१५ मा बेलायतको एउटा अनुसन्धानले विश्वभरि एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका ब्याक्टेरिया संक्रमणका कारण सन् २०५० मा एक करोड मान्छेको मृत्यु हुने भनेको थियो। जुन क्यान्सर, एचआइभी, टिभी जस्ता रोगहरूका कारणले मृत्यु हुनेभन्दा धेरै हो। अहिलेको अवस्थाअनुसार त त्यो झन् धेरै हुनेवाला छ।
कोभिडको समयमा सबै रूघाखोकी लागेका मान्छेहरूले एजिथ्रोमाइसिन, डक्सिसाइलिन जस्ता विभिन्न खालका एन्टिबायोटिक प्रयोग गरेका छन्। कतिपय हामी चिकित्सकले लेखेर दियौं, कतिपय औषधि पसलेले दिए, कति बिरामी आफैंले किनेर खाए। कतिपय आफूले जानेर खाए कति त वडाअध्यक्षले पोका पोका नै लगेर बाँडेका थिए।
चार वर्षअघि टाइफाइडका बिरामीलाई एजिथ्रोमाइसिनले काम गर्थ्यो भने अहिले काम नगर्ने भएको छ। दुई-तीन वर्षमा भएको व्यापक दुरूपयोगका कारण एन्टिबायोटिकले काम नगर्ने भइसकेको छ। यो चेनता हामीले आमजनतामा पुर्याउन सक्नुपर्छ।
स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, मेडिकल काउन्सिल, मेडिकल शिक्षा पढाउने लगायतका निकायहरूले यसलाई सुधार्न जरूरी छ। चिकित्सकहरू समेत रोल-मोडल बनिदिनुपर्छ।
नेपाल र भारत जस्ता देशहरूमा मानिसहरूमा मात्र होइन, हाँस, कुखुरा र अन्य घरपालुवा पशुमा पनि असाध्यै ठूलो मात्रामा विभिन्न थरीका एन्टिबायोटिक प्रयोग हुन्छ। हाम्रो खानामा पनि ती औषधि मासु, जनावरका मलमूत्रमार्फत वातावरणमा फैलिएर पुगेका हुन्छन्। त्यस्तै औषधि कम्पनीहरूका उत्सर्जनको राम्रो व्यवस्थापन नभएमा पनि वातावरणमा र त्यसपछि हाम्रो खाना आदिबाट शरीरमा ती औषधि पुग्छन्। त्यसैले एन्टिबायोटिकको दुरूपयोग जनावरहरूमा पनि सकेसम्म गर्नुहुँदैन। कति महत्त्वपूर्ण एन्टिबायोटिकहरूलाई पशुपन्छीमा प्रयोग गर्न नीति नै बने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन।
चिकित्सककहाँ कोही बिरामी रूघाखोकी लागेर आएको छ। भाइरसको कारणले यस्तो भएको हो भन्ने थाहा छ। मैले एन्टिबायोटिक लेखिदिन्छु। तर कतिपय चिकित्सकले किन लेख्छन् भने मैले एन्टिबायोटिक दिइनँ भने ब्याक्टेरियाको संक्रमण रहेछ भने निको हुँदैन। भाइरल रहेछ भने आफैं निको हुन्छ। तर केही गरी ब्याक्टेरिया संक्रमण छ भने निको हुँदैन। त्योभन्दा मैले एन्टिबायोटिक लेखिदिएँ भने ब्याक्टेरिया होस् या भाइरस, कि बिरामी आफैं निको हुन्छ, कि मेरो औषधिले ठीक हुन्छ। बिरामीको मप्रति विश्वास पनि बढ्छ। तपाईंलाई रूघाखोकी मात्रै हो, भाइरसले गर्दा हो, एन्टिबायोटिक चाहिँदैन भनेर पठाएँ भने यो डाक्टरले औषधि दिँदैन रहेछ भनेर अर्को डाक्टर खोज्न गइहाल्छ। अनि बिरामी आउँदैन कि भनेर समेत चिकित्सकले एन्टिबायोटिक दिने गर्छन्।
अर्कोतिर अस्पतालमा भर्ना भएका बिरामीलाई एन्टिबायोटिक लेखिदियो भने डाक्टरलाई समेत कमिसन जाने खालको संयन्त्र छ। यसमा स्वार्थ बाझिने भयो। यसमा राज्यले सोच्ने हो भने धेरै गर्न सकिन्छ।
भारतको केरला राज्यमा एन्टिबायोटिक जथाभावी बेच्न नपाइने प्रावधान छ। नेपालमा केही चुनौती हुन सक्छ। हरेक ठाउँमा चिकित्सकको प्रेसक्रिप्सन सम्भव छैन। त्यस्तो अवस्थामा कसरी प्रयोग गर्ने भनेर एउटा मापदण्ड बनाउन सकिन्छ। यसका लागि राजनीतिक प्रतिबद्धता अनि चिकित्सककै पेसागत मर्यादा जरूरी छ।
हाम्रोमा 'कल्चर' गर्ने चलन छैन। कसैलाई निमोनिया भएको छ, खकारको कल्चर भएको छ भने त्यसको आधारमा एन्टिबायोटिक दिन सकिन्छ। तर एन्टिबायोटिक दिएपछि मात्रै कल्चर गर्ने चलन पनि छ। अर्कोतिर ल्याबहरू एकदमै कमजोर खालका छन्। तिनले डाक्टरलाई विश्वासिलो तथ्यांक दिन सक्दैनन्। जसले गर्दा एन्टिबायोटिकको गलत प्रयोग भइरहेको छ।
अहिले भाइरलको रूघा, खोकी र ज्वरो देखिएको छ। तर हामीकहाँ भाइरसको परीक्षण गतिलो हुँदैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्यान्डमली भाइरसको परीक्षण गर्ने हो भने समेत एन्टिबायोटिकको गलत प्रयोगमा धेरै कमी आउँछ।
सकेसम्म एन्टिबायोटिक नै नचाहिने अवस्था निर्माण गर्न पनि कोसिस गर्नुपर्छ किनकि ब्याक्टेरियाको संक्रमण जति कम भयो, उति एन्टिबायोटिकको प्रयोग घट्छ। त्यसका लागि विभिन्नथरी संक्रमण कम गराउने, अस्पताल जानुपर्ने अवस्था कम गर्ने उपायहरू प्रयोग गर्नुपर्छ। जस्तै, उपयुक्त उमेर र जोखिम समूहहरूमा प्रयोग गरिने टाइफाइड, इन्फ्लुएन्जा, न्युमोकोक्कस जस्ता खोपहरू लगाउने, अस्पतालमा एउटा बिरामीबाट अर्कोमा विभिन्न किसिमका संक्रामक ब्याक्टेरियाहरू; विशेष गरी एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरू सर्नबाट रोक्ने जस्ता कुराहरूको पनि विशेष भूमिका हुन्छ।
(संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी कीर्तिपुर अस्पताल र मेधर्म क्लिनिक, झम्सिखेलमा कार्यरत छन्।)