स्रोत नखुलेको रकम फेला परेपछि नेपालगन्ज विमानस्थलका कर्मचारीको आँखा छलेर भागेका आन्तरिक राजस्व कार्यालय, तुलसीपुरका एक कर अधिकृतले प्रहरीलाई झुक्याएको पाइएको छ।
सँगै यात्रारत कर अधिकृत खगेन्द्र सापकोटाको साथबाट स्रोत नखुलेको २६ लाख रूपैयाँ रकम फेला परेपछि प्रहरीले उनीमाथि केरकार तथा सोधपुछ गरेको थियो। सो क्रममा अर्का कर अधिकृत दीपक पौडेल सुटुक्क भागेका थिए।
भागेका पौडेलले आफैं प्रहरीमा आउने बाचा गरेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले यसअघि सेतोपाटीलाई बताएका थिए। तर गरेको बाचाअनुसार उनी बेलुका आठ बजेसम्म पनि प्रहरीकहाँ पुगेका छैनन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार सोमबार बेलुका करिब ८ बजेसम्म उनको मोबाइल स्विच-अफ भनिरहेको छ।
बिहान सात बजेतिर श्री एयरलाइन्सको जहाजमार्फत बाँकेको राँझा विमानस्थलबाट काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रूपैयाँ बरामद भएको थियो। त्यतिखेर उनका साथी पौडेलसँगै यात्राका लागि विमानस्थल पुगेका थिए। उनीहरू दुई जना एकै कार्यालयमा, समान पदमा कार्यरत थिए।
एसपी राठौरले यसअघि सेतोपाटीलाई बताएअनुसार प्रहरीले फोन सम्पर्क गर्दा फरार रहेका कर अधिकृत पौडेलले आफैं प्रहरीकहाँ आउने बाचा गरेका थिए। तर पौडेलले आफू आउँछु भनेर पक्राउ परेका सापकोटालाई भनेको अनुसन्धानमा खटिएका अर्का प्रहरी अधिकृतले बताएका छन्।
'पक्राउ परेका सापकोटाले पौडेलले फोन गरेका थिए। उनले मलाई छोडेर तपाईं कहाँ जानुभयो भन्दा पौडेलले म एकैछिनमा प्रहरी कार्यालय आउँछु भनेका थिए,' ती प्रहरी अधिकृतले भने, ‘तर पौडेलले राँझा विमानस्थलदेखि झन्डै १२ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग पुगेपछि आफ्नो मोबाइल स्विच-अफ गरी सम्पर्क बिहीन भए।'
जिल्ला प्रहरी कार्यालयकै अर्का प्रहरी अधिकारीले एक जना कर अधिकृत विमानस्थलबाट साथी पक्राउ पर्दा सुटुक्क भागेका पौडेलको विश्वास गर्नु कमजोरी भएको स्वीकार गरे।
'फरार पौडेलको तत्काल खोजी गर्नुको साटो विमानस्थलदेखि झन्डै १२ किलोमिटर परको कोहलपुर पुग्दासम्म उनको पिछा नगर्नु हाम्रो कमजोरी भयो भन्ने कुरा हामीले स्वीकार गर्नु राम्रो हो,' ती प्रहरी अधिकारीले भने, 'चोरी गरेको कुनै पनि व्यक्तिले आफैं म चोर हुँ भन्छ र?'
जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार स्क्यानिङ मेसिनबाट जाँच गर्ने क्रममा तुलसीपुरका कर अधिकृत सापकोटाको झोलामा लाखौं रकम फेला परेपछि सुरक्षाकर्मीले उनलाई सोधपुछ गर्ने क्रममा केही पछाडि रहेका पौडेल सुटुक्क निस्किएर भागेका थिए।
प्रवक्ता डाँगीले भने, 'उहाँ केही पछाडि रहेको हुँदा प्रहरीले पनि उहाँहरू सँगै आएको कर्मचारी र साथी हो भन्ने कुराको भेउ सुरूमा पाउन सकेन। अनि पौडेल उम्किन सफल भएको कुरा साँचो हो।'
एसपी राठौरले पनि सुरूमा फरार पौडेलले आफैं उपस्थित हुने बाचा गरेकाले प्रतीक्षाको विषय भइरहेको बताए पनि पछि कुरा फेरे।
'हामीसँगको फोन संवादमा होइन,' एसपी राठौरले भनेका थिए, 'पक्राउ परेका उनकै साथीको मोबाइलबाट फोन गर्दा पौडेलले आफैं कार्यालय आउने बताउनुभएको थियो। त्यसरी सँगै आएको व्यक्तिले साथीलाई छोडेर भाग्न मिल्छ त? गल्ती छैन भने किन, कोही डराउनुपर्छ र?'
पछिल्लो समय प्रहरीसँग कुरा गरी आफैं आउने बाचा गरेका पौडेल बेलुका अबेरसम्म पनि नआएपछि प्रहरी अन्यौलमा परेको छ।
त्यसअघि डिसपी डाँगीले भनेका थिए, 'एउटा राष्ट्र सेवक कर्मचारी भाग्न नसुहाउने कुरा हो। हामीलाई विश्वास छ, उहाँ बाचा गरेअनुसार आउनु हुनेछ र घटना अनुसन्धानमा सघाउनु हुनेछ।'
उनी नआए प्रहरी बल प्रयोग गर्न बाध्य हुने र त्यसबाट पौडेल स्वयंको मर्यादामा असर पर्न सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए।
सम्बन्धित समाचार- नेपालगन्ज विमानस्थलबाट फरार कर अधिकृतले भने- म आफैं प्रहरी कार्यालय आउँछु