हामीले खाएको कुनै पनि खानेकुरा दाँतमा गएर अड्किन्छ। नेपालमा अहिले पनि बिहान-बेलुका दाँत माझ्ने गरिँदैन। दाँतमा टाँसिने खाना असाध्यै धेरै हुन्छ। त्यसले गर्दा दाँतमा गएर खानेकुरा बस्छ। मुखमा सानो-सानो ब्याक्टेरिया (माइक्रो ब्याक्टेरिया) हुन्छ। त्यो ब्याक्टेरियाले खाएको खाने कुरालाई एसिड बनाउँछ। त्यो एसिडले दाँतलाई खियाउने प्रक्रिया सुरू गर्छ। यसलाई नै हामी दाँतलाई कीराले खाएको भन्छौं।
दाँत कीराले खाने पनि विभिन्न चरण हुन्छन्। दाँतको तीन वटा पत्र हुन्छ। बाहिरी पत्र इनामेल, दोस्रो पत्र डेन्टिङ र तेस्रो पत्रलाई पल्प भन्छौं। दाँतको रक्त सञ्चार हुने डेन्टल पल्पमा हो।
बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहकाहरूको चपाइने दाँतमा कीराले खान्छ। अगाडिको दाँतमा भन्दा चपाउने दाँतमा कीराले खानुको कारण त्यहाँ खानेकुरा अड्किने सम्भावना धेरै हुन्छ। अर्को कुरा ब्रस समेत पछाडिसम्म गर्दैनौं। पहिलो पत्रमा समस्या हुँदा थाहा हुँदैन। चपाउने सतहमा कालो कालो देखिएको छ भने समस्याको पहिलो चरण सुरू हुन्छ। यो बेलामा उपचार गर्न सकेमा खर्च कम लाग्छ भने उपचार गर्न समेत सहज हुन्छ।
यो बेलामा लापरबाही गर्ने हो भने दोस्रो चरणको समस्या सुरू हुन्छ। खाना खाँदा अड्किएको जस्तो हुने दाँत संवेदनशील भएको जस्तो अनुभव हुन्छ। २० देखि ३० प्रतिशत मात्रै बिरामी यो अवस्थामा अस्पताल जान्छन्। कीराले खाने क्रम बढ्दै गएर नसामा जान्छन्। यो बेलामा दुखाइ अत्यधिक हुन्छ। त्यसपछि मात्रै बिरामी अस्पताल पुग्छन्। यो समस्या बालबालिकामा अत्यधिक देखिएको छ। १० जना बालबालिकामा ८\९ जना बालबालिकाको दाँतमा समस्या देखिएको छ। त्यसैले बालबालिकाको दाँतबारे अभिभावकले धेरै ध्यान दिनुपर्छ।
धेरैजसो बिरामी दाँत बिग्रिएर पल्पाइटिस भएपछि मात्रै उपचारको लागि चिकित्सककहाँ जान्छन्। त्यस्तो अवस्थामा बिरामीलाई मात्र होइन हामीलाई समेत गाह्रो हुन्छ।
दाँतमा समस्या हुन नदिन सकेसम्म गुलियो खाना खान हुँदैन। यदि खाइहालेमा कुल्ला गर्नुपर्छ। बिहान-बेलुका दाँतलाई सफा गर्न सकियो भने दाँत कीराले खाने समस्या कम हुन्छ। फाइबर भएको खाना खाने हो भने दाँतमा अड्किने सम्भावना कम हुन्छ। यस्ता खानाले बालबालिकालाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँछ। दाँतलाई बिहानभन्दा पनि बेलुका सफा गर्नुपर्छ। त्यस्तै फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ भने सम्भव भएमा प्रत्येक ६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ।
(दाँत कीराले किन खान्छ, यसको उपचार कसरी गर्ने लगायतका विषयमा केन्द्रित रहेर हामीले भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख तथा साइराम डेन्टलका सञ्चालक डा.अजय न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।)