प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको रकेट आक्रमणपछि दाङका एक युवा सम्पर्कविहीन भएका छन्।
दंगीशरण गाउँपालिका-३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीसँग परिवारको शनिबार १२ बजेपछि सम्पर्क भएको छैन।
प्रवीण गत भदौ २३ गते इजरायल गएका थिए। इजरायल गएको महिना दिन नपुग्दै छोरा सम्पर्कविहीन भएपछि उनको परिवार चिन्तामा परेको छ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले प्रवीण शनिबारदेखि सम्पर्कविहीन बनेको भन्ने कुरा घर-परिवारले सूचना दिएको सेतोपाटीलाई बताए।
प्रवीणका बुबा निमबहादुर डाँगी शिक्षक हुन्। निमबहादुरले आफ्नो छोरा बिएस्सी एजी पूरा गरेपछि गत भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको ‘अर्न एन्ड लर्न प्रोग्राम’ मा इजरायल पुगेको सेतोपाटीलाई बताए।
आफ्नो छोरासँगै दाङ तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका अर्का एक युवा र आफूले ठेगाना थाहा नपाएका हिमाञ्चल खडेल गरी तीन जना सँगै गाजा क्षेत्र नजिकै रहेको एउटा कृषि फार्मका लागि भनेर गएको उनले बताए।
‘हिजो दिउँसो १२ बजेतिर छोरासँग कुरा भएको थियो,’ निमबहादुरले भने, ‘त्यसपछि ऊ सम्पर्कविहीन छ।’
शनिबार मध्यान्ह १२ बजेपछि भएको आक्रमणमा छोरा परेको हुन सक्ने आशंका उनले व्यक्त गरे।
सँगै रहेकी फुच्ची मुन नामक नेपाली छात्राले छोराको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको र त्यसमा प्रवीणले ‘मेरो आमा साह्रै बिरामी हुनुहुन्छ। उहाँलाई बचाइ दिनुहोला, म त मर्छु होला’ भनेर बोलेको पनि निमबहादुरले बताए।
छोरा सम्पर्कविहीन बनेदेखि घरमा आगो नबलेको र चिन्ताका कारण घर परिवारका कसैले खाना नखाएको उनले सेतोपाटीलाई बताए।
‘दूतावासमा फोन सम्पर्क गर्दा तपाईंको कुरा बुझिएन भन्दै फोन राखिदिन्छन्,’ निमबहादुरले भने, ‘यस्तो अवस्थामा राज्यले आफ्ना नागरिकको उद्धार र सुरक्षाको लागि विशेष पहल गर्नु पर्ने हैन र?’
प्रवीण सम्पर्कविहीन बनेपछि घर परिवार आफन्त र उनका साथीहरू सबै चिन्तित छन्।
शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको उल्लेख गरेको छ। घाइते ९ जनामध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रयोगात्मक सिकाइको ११ महिने ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि उनीहरू भदौ महिनामा त्यहाँ पुगेका थिए।