नारायणी र राप्ती नदीको दोभान–गोलाघाट नजिकैको चौरमा एउटा चिटिक्कको घर बनाइएको छ। खरले छाएको, माटोले लिपेको घरको अघिल्तिर केही युवा, युवतीहरु स्वागतका लागि उभिएका छन्।
घरका विभिन्न भागमा कृषिका लागि, घरायसी कामका लागि, माछा मार्न प्रयोग गरिने सामग्रीहरु झुण्ड्याइएका छन्। झट्ट हेर्दा घर कुनै संग्रहालय जस्तो पनि लाग्छ। मान्छे यो घरको अगाडि उभिएर फोटो खिचाउँदै थिए।
कुमाल समुदायले बनाएको आफ्नो परम्परागत घर हो यो। यहाँ झुण्ड्याइएका सामग्रीहरु कुमाल समुदायले परम्परादेखि प्रयोग गर्दै आएका सामान हुन्। नयाँ पुस्तालाई परम्परादेखि चलिआएको संस्कृतिबारे जानकारी गराउन यो घर तयार पारिएको हो।
यसपाली कुमाल समुदायले भरतपुर–२८ गोलाघाटमा माघे संक्रान्ति विशेष राष्ट्रिय कार्यक्रम गर्दैछ। यो कार्यक्रममा सहभागी हुन देशभरका कुमाल यहाँ भेला भइरहेका छन्।
कुमाल समाज नेपाल केन्द्रीय समितिको आयोजनामा देशभरका कुमाल एकै स्थानमा सहभागी भई माघे संक्राति पर्व मनाउन लागेको अध्यक्ष तेलबहादुर (विशाल) कुमालले जानकारी दिए। उनले कुमाल जातिको संस्कृति, भाषा, मौलिक भेषभुषा, मौलिक घर, खानाका परिकार, पाहुनाको स्वागत सत्कारका चाल चलनलाई प्रदर्शन र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताए।
राष्ट्रिय कार्यक्रमका प्रचार संयोजक राजन कुमालकाअनुसार कुमाल समुदाय देशका ७० वटा जिल्लामा बसोबास गर्छन्। २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको संख्या १ लाख २९ हजार ७०२ छ। ७० जिल्लाबाट छ हजारभन्दा बढी कुमालहरु सहभागी भएर माघे संक्रान्ति पर्व मनाउन लागेको उनले बताए।
‘कुमाल जाति प्रकृति पूजक हुन्। खेतीबाली भित्रयाएपछि पुसमा पकाएर माघमा खाने हाम्रो चलन हो। सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले यो पर्वलाई नयाँ वर्ष शुरुवातको रूपमा मान्ने चलन छ,’ उनले भने, ‘हाम्रो लागि माघे संक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व हो।’ विगतमा उत्साहका साथ गाउँ, घरमा मनाइँदै आएको पर्व यसपाली सामूहिक रुपमा गोलाघाटमा मनाउन लागेको कुमालले बताए।
संक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आई पितृको नाममा पानी चढाउने, कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ। यो दिन छोरी, कुटुम्बलाई घरमा बोलाएर पुज्ने पनि गरिन्छ। कुखुरा, सुँगुरको मासु, माछा, सेल रोटी, खुदौरो÷फुरौला (घिउचाकु), भाते जाँड साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल÷कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ।
केन्द्रीय अध्यक्ष तेलबहादुर (विशाल) कुमालले कुमाल समुदायको भाषा र कला लोप हुने अवस्थामा पुगेको बताए। उनकाअनुसार अहिले देशभरका कुमालमध्ये करिब १२ प्रतिशतलेमात्रै आफ्नो भाषा बोल्न सक्छन्। चितवनमा कुमालको जनसंख्या ११ हजार ४०५ छ। यहाँ राम्ररी कुमाल भाषा बोल्नसक्ने कोही पनि नरहेको उनी बताउँछन्। ‘लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालहरुले आफ्नो भाषा बोल्नुहुन्छ तर बसाइसरेर अन्यत्र गएकाहरुले बोल्न छाडे,’ उनी भन्छन्, ‘कुमाल भाषाको पुस्तक तयार पारेर नयाँ पिँडीलाई सिकाउने लक्ष्य लिएका छौं। चितवनको भेलामार्फत यसमा सघाउन सरकारसँग आग्रह गर्छौं।’
माटोको भाँडा बनाउने कलामा कुमाल समुदाय पोक्त मानिन्छ। तर अहिले देशका केही स्थानमामात्रै कुमालका चक्रहरु छन्। ‘पुर्खाले जानेका सिप नयाँ पुस्तामा हस्तान्तरण भएन। नयाँ पिँडीले परम्परागत सबै कुराहरु भुल्न थाले,’ उनी भन्छन्, ‘सकेसम्म ती सबै कुराहरु एकै ठाउँमा देखाउने र संरक्षणमा प्रेरित गर्ने अभियान सुरु गरेका छौं। यो एक किसिमको साँस्कृतिक आन्दोलन पनि हो।’
समाजका सल्लाहकार जयमंगल कुमालले कुमाल समुदायको परम्परागत नैतिक विवाह(मागी विवाह) को परम्परा नयाँ पुस्तालाई देखाउन लागेको बताए। साथै कुमालको पाङदुरे, फागु, रोधीलगायतका नाचहरु प्रस्तुत गर्ने उनले बताए।
बृहत कार्यक्रममा कुमाल समुदायका खानाका परिकारहरु कालो सुँगुरको मासु, माछा, ढिकर, चिचर, फुरौलाहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।
माघे संक्राती कुमाल जातिको राष्ट्रिय पर्व हो भनेर नेपाल राजपत्रमा प्रकाशन हुनुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए। उनले संघीय निजामती सेवा ऐनमा उल्लेख भए बमोजिम निजामती सेवालाई समावेशी बनाउन आदिवासी जनजातितर्फ छुट्टाइएको २७ प्रतिशत पदमा केही सिमित जातिः नेवार, थारु, मगर तामाङ, राई जातिले मात्र सफलता प्राप्त गरेको बताए। हालको संघीय निजामती ऐनले कुमाल लगायत अन्य पिछडिएका जनजातिको पनि सुनिश्चितता हुने गरी संघीय निजामती ऐनमा संशोधन हुनुपर्ने, कुमाल जातका थरहरु मधेसी मान्न नपाइनेलगायतका मागहरु पनि प्रधानमन्त्री समक्ष राखेको उनले बताए।
मधेसी आयोगको वार्षिक प्रतिवेदनको थर सूचीकरणको विवरण भन्ने शीर्षक अन्तर्गत कुमाल समुदायलाई पनि समेटेकाले तराईमा बस्ने कुमाललाई मधेसी मान्दा समस्या भएको कुमाल समाज नेपालको धारणा छ।
समाजले राज्यको मूल संरचनामा कुमाल समुदायलाई जोडेर लैजानुपर्ने, कुमाल समुदायको आर्थिक अवस्था सुधारका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, कुमाललगायत सिमान्तकृत, अतिसिमान्तकृत तथा लोपोन्मुख जातिलाई १२ कक्षासम्मको सरकारी शिक्षा निशुल्क बनाउनुपर्ने, कुमाललगायत सिमान्तकृत, अतिसिमान्तकृत तथा लोपोन्मुख समुदायको स्वास्थ्य उपचार निशुल्क गराउन काूननी व्यवस्था गरिनुपर्नेलगायतका माग राखेका छन्।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी