दस वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्यूठान प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको साविक तोरबाङ गाबिस– ५ र हालको झिमरूक गाउँपालिका– ६ का जिवा ढकाल १३ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर थापाले जानकारी दिए।
यामबहादुर ढकालको जाहेरीले प्रतिवादी जिवा ढकाललाई बाँके जिल्ला अदालतले २०६८ वैशाख १७ गते १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
त्यसबारे प्यूठान जिल्ला अदालतको लगत नम्बर ५२६ मा ९ वर्ष १० महिना २७ दिन जिवा ढकालले अझै सजाय भुक्तान गर्नुपर्ने कुरा उल्लेख रहे पनि उनी फरार रहँदै आएका थिए।
फरार जिवा ढकाललाई पक्राउपछि आइतबार प्रहरीले जिल्ला अदालतमा पेस गरेको थियो।
अदालतको आदेशलाई उनलाई तोकिएको सजाय भुक्तान गर्न जेल चलान गरिएको जिल्ला प्रहरी प्रमुख थापाले बताए।