काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भएको चिकित्सकमाथिको कुटपिट घटनामा दुई चिकित्सक संघले आपत्ति जनाएका छन्।
सोमबार राति अस्पतालमा कार्यरत डाक्टर बिनिता प्रधान र डा. पुजा साहमाथि भएको कुटपिट र अस्पतालमा तोडफोड गरेको भन्दै नेपाल चिकित्सक संघ र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालले आपत्ति जनाएका हुन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सन्जिब तिवारीले उपचारको क्रममा कुनै त्रुटि भएको शंका लागेमा कानुनी प्रक्रियामा हुँदाहुँदै स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने कार्यले गम्भीर असर व्यहोर्नु परेको बताएका छन्।
साथै, उनीहरूले दोषीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गर्न भनेका छन्।
सोमबार साँझ उपचार गर्न पुगेका इलाम घर भई पुरानो बानेश्वर बस्ने ६२ वर्षीय पदमलाल रिमाल उपचारका लागि गएका थिए। मृतकका आफन्तका अनुसार मोही खादा सर्किएर गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए। त्यहाँ इमर्जेन्सीमा चिकित्सकहरूले बेवास्ता गरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
बिरामीलाई बेवास्ता गरेको भन्दै उनका आफन्तले तोडफोड गरेका थिए।
यस घटनामा अस्पताल र पीडित पक्षबीच वार्ता भएर सहमति भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी वसन्त रजौरले बताए।