असार २८ गते शुक्रबार त्रिशूली नदीमा दुइटा बस खसेको करिब ५ घन्टापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले उद्धार कार्य सुरू गरेका थिए।
दुर्घटनास्थलमा र्याफ्टिङ बोटमार्फत उनीहरूले खोजी सुरू गरे। खोजीका लागि तत्काल उपलब्ध साधनहरू प्रयोग गरिएको थियो।
सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीले क्यामेरा जोडिएको लामो बाँस, हुक र म्याग्नेट झुण्ड्याइएको डोरी पानीमा डुबाएर सिमलतालस्थित बस खसेको आसपासका क्षेत्रमा खोजी गरेका थिए। बिस्तारै उनीहरूले नेपालमा उपलब्ध सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न थाले। योक्रम केही दिनसम्म चल्यो।
बससँगै हराएका यात्रूका आफन्तहरूलाई भने यहाँ भइरहेको कामले चित्त बुझेको थिएन। उद्धारकर्मीहरूको काम हेरिरहेका उनीहरू प्रश्न गर्थे, ‘यति ठूलो नदीमा मान्छे हराएको छ, बाँसले घोचेर कसरी फेला पर्छ?’
उनीहरूको आक्रोशको पारो तातेर गइरहेको थियो। रिसको झोंकमा उनीहरूले केहीबेर नारायणघाट–मुग्लिन सडक नै बन्द गरे।
‘यहाँ नेताका मान्छे हराएको भए तुरून्तै विदेशी गोताखोर झिकाएर काम थालिन्थ्यो होला! जनताका मान्छे हराएका छन् उनीहरूलाई कुनै मतलब छैन,’ रौतहटबाट आफन्त खोज्दै आइपुगेको एउटा समूहका व्यक्तिहरूले आक्रोशित हुँदै भनेका थिए।
उनीहरू सरकारलाई प्रश्न गर्दैथिए, ‘जहाज खसेर मान्छे मरेको भए तुरून्तै छानाबिन समिति बन्ने थियो। तर दुईवटा गाडी खसेर ६० भन्दा बढी मान्छे हराउँदा सरकार किन वास्ता गर्दैन? के बसमा चढ्ने मान्छे यो देशका नागरिक होइनन्?’
छानबिन समिति बनाउनुपर्ने उनीहरूको मागको सुनुवाइ सरकारले घटना भएको ३ दिनपछि गर्यो। सहसचिव छवि रिजालको संयोजकत्वमा अध्ययन समिति बनाइयो। उक्त समिति चितवन आएर अध्ययन गरी फर्किएको छ।
विदेशी गोताखोर ल्याएर खोजी गर्नुपर्ने मागको सुनुवाइ पनि सरकारले घटना भएको ३ दिनपछि नै गर्यो। ८ दिनपछि शनिबार दिउँसो भारतबाट १२ सदस्यीय उद्धार टोली स्थलमार्ग हुँदै भरतपुर आइपुग्यो।
शनिबार सरसर्ती नदी हेर्ने र नेपालका सुरक्षा निकायको ब्रिफिङ सुन्ने काममात्रै गरेको भारतीय टोली आइतबार बिहानैदेखि खोजीमा लागेको थियो।
आइतबार बिहान उनीहरू साढे ८ बजेतिर सिमलताल पुगेका थिए। त्यतिखेर सशस्त्र प्रहरीको टोलीले मोटर बोट र र्याफ्टिङ बोट तयार पारिरहेको थियो।
साढे ९ बजेतिर एनडिआरएफका तीन जना मोटर बोटमा चढे। एकको साथमा ल्यापटप थियो, अर्काले हातमा फलामको लामो डण्डी बाकेका थिए। त्यसको टुप्पोमा सोनार क्यामेरा जोडिएको थियो। अर्का यी दुई जनालाई समन्वय गरिरहेका थिए। त्यसमा सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना पनि चढेका थिए।
अन्य दुई र्याफ्टिङ बोटमा सशस्त्र प्रहरीका उद्धारकर्मीहरू चढेका थिए।
केहीबेरमा भारतीय उद्धारकर्मी चढेको मोटरबोट अघि बढ्यो। सररर नदीको झण्डै बीच भागमा पुग्यो। तर उच्च बहाबको त्रिशूलीले सोनार क्यामेरालाई पानीमा राम्ररी गड्न पनि दिएन। पानीको छालले मोटरबोलाई हुत्याउन थाल्यो। माथि फर्किने मोटरबोटको प्रयासलाई नदीको बेगले धकेलिरहेको थियो। निकै जोड लगाएर मोटरबोट पहिलेकै स्थानमा फर्कियो।
उनीहरूले दास्रो प्रयास सुरू गर्नुअघि मोटरबोटको छेउमा बाँधिएको डोरो किनारमा उभिएका प्रहरीलाई समात्न लगाए। बिस्तारै मोटरबोट पुनः अघि बढ्यो। तर पानीको बेगले डोरो फुत्काइहाल्यो। मोटरबोटलाई पानीको छालले तलतल धकेल्दै लग्यो। यसपालि पनि चालकले बडो मेहनत गरेर मोटरबोटलाई पहिलेको ठाउँमा फर्काए।
‘ती दुई पटकमा उनीहरू निकै अताल्लिए। नदीको बहावसँग उनीहरू निकै डराएका रहेछन्,’ सशस्त्र प्रहरीका एक जना अधिकृतले भने, ‘नदीको उच्च बहावसँग उनीहरू हार खाइसकेका छन्। यही अवस्थामा फेरि त्यही ठाउँमा गएर काम गर्लान् जस्तो मलाई लाग्दैन।’
दुर्घटना भएको दिन नदीमा ठूलो बाढी आएकले पानीको सतह आइतबारभन्दा निकै माथि थियो। त्यो अवस्थामा पनि नेपाली सेना र सशस्त्र प्रहरीले यही ठाउँमा पटक–पटक र्याफ्टिङ बोट चलाएका थिए। क्यामेरा जोडेको बाँस नदीमा डुबाएर, हुक र म्याग्नेट खसालेर बस र यात्रू खोज्न निरन्तर प्रयास गरिरहेका थिए। गोताखोरहरू ज्यानको प्रवाह नगरी धमिलो पानीमा हामफालिरहेका थिए। सोही क्रममा हुकमा अड्किएर बसको पर्दा र केही कपडा भेटिनुबाहेकको उपलब्धि भएन।
दुर्घटनास्थलमा खोजीको थप सम्भावना नभएपछि खोजी करिब चार किलोमिटर तल केराबारी भन्ने ठाउँबाट सुरू गर्ने निर्णय गरियो। मोटरबोट र दुईवटा र्याफ्टिङ बोट केराबारी पुगे। यहाँ नदी माथिभन्दा फराकिलो भएर बगेको छ। उनीहरूले त्यहाँ सोनार क्यामेरा पानीमा डुबाएर करिब तीन किलोमिटर क्षेत्रमा खोजी गरे। तर उपलब्धि केही हात परेन। अर्थात केही पनि देखिएन।
साढे ११ बजेतिर पानीको बहाव बढिरहेको थियो। सिमसिम पानी पर्न थालेको थियो। खोजी कार्य तत्कालका लागि स्थगित गरियो। उक्त क्षेत्रमा अहिलेको अवस्थामा काम नगर्ने भन्दै खाना खाएपछि देवघाट क्षेत्रबाट खोजी सुरू गर्ने निधोमा टोली पुग्यो।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीकाअनुसार सिमलतालदेखि घुमाउनेसम्मको करिब ६–७ सय मिटर क्षेत्रमा त्रिशूली निकै साँघुरो छ। सो क्षेत्रमा पानीको बहाब उच्च रहने भएकाले डुंगाहरू टिक्न सक्दैनन्। भारतीयहरू पनि टिकेनन्।
मोटरबोट र र्याफ्टिङ बोटलाई नदीबाट सडकमा उकालियो। गाडीमा हालेर देवघाट पुर्याइयो।
त्यहाँबाट सवा ३ बजेतिर निस्किएका डुंगाहरू पौने ४ बजे शिवघाट पुगेका थिए। राइनो क्रूजसिप राखिएको ठाउँमा उत्रिएको भारतीय टोलीलाई हामीले सोध्यौं के भयो आजको उपलब्धी? उनीहरूले जवाफ दिए– ‘केही भेटिएन। सोनार क्यामेराले खिचेको भिडियो फोटो रेकर्ड गरिएको छ। त्यो हेरेर विश्लेषण गर्छौं।’
त्यसअघि उनीहरूले नदी प्रविधिमैत्री नभइदिँदा सिमलतालमा खोज्न सम्भव नभएको बताएका थिए।
‘हामी यहाँ खोजी गर्न चाहन्थ्यौं। तर अहिले पानीको बहाव प्रविधिमैत्री छैन। जुन मेसिन ल्याएका थियौं त्यही ड्यामेज हुने सम्भावना छ। शनिबार अपरान्हमा हामीले नदीको निरीक्षण गर्दाको अवस्था भइदिएको भए खोजीका लागि उपयुक्त हुन्थ्यो,’ एक उद्धारकर्मीले भनेका थिए, ‘तर शनिबार रातिदेखि पानी परेकाले नदीमा करेन्ट बढिरहेको छ। त्यसैले जुन क्षेत्रमा हामीले प्रविधिको प्रयोग गरी खोजी गर्न चाहेका थियौं त्यहाँ चाहेअनुसार खोज्न सकेनौं।’
उनका अनुसार खोजी गर्न बोटको क्षमता, पानीको बहाव, वेग र प्रविधिको संयोजन मिल्नुपर्छ। सजिलोसँग प्रविधिको प्रयोग गर्नका लागि स्थिर पानी चाहिन्छ।
‘अनि त्यसपछि बोट जान सक्ने हुनुपर्यो। बोटको पनि फेरि सीमितता हुन्छ। बोट २ मिटर पर सेकेन्डका लागि बनेको छ तर ५ मिटर पर सेकेन्डको करेन्ट छ भने बोट त्यहाँ रोक्न सकिन्न। बोट पनि पानीको करेन्ट अनुसार अडिन सक्ने हुनुपर्यो। फेरि पानीमा बोटमात्रै अडिएर पनि भएन। मेसिन पनि अडिन सक्ने हुनुपर्यो। पानी, बोट र प्रविधिको संयोजन मिल्ने अवस्था भएपछि मात्रै खोज्न सकिन्छ,’ उनले भनेका थिए।
तीन वटै सोनार क्यामेरा ल्याएर प्रयोग गर्ने लक्ष्य लिएपनि उनीहरूले लक्ष्यअनुसारको काम गर्न सकेनन्। क्यामेरामा कुनै शंकास्पद वस्तु देखियो भने बल्ल गोताखोरको काम आउँछ। शंकास्पद वस्तु के रहेछ भन्ने कुरा पत्ता लगाउन उनीहरू नदीभित्र पस्नुपर्छ।
यो टोलीसँग भारतको उत्तराखण्ड, हिमाचलमा ९ देखि १० दिनसम्म खोजी गरेको अनुभव छ। तर नेपालका नदीमा उनीहरूले विल्कुलै फरक अनुभव गरिरहेका छन्। उनीहरूले उपल्लो क्षेत्रमा साँघुरिएको नदीमा उच्च बहावको सामना गर्नुपर्ने छ भने तल्लो क्षेत्रमा फराकिलो भएर बग्ने नदीमा बहावले कम समस्या दिन्छ तर उक्त क्षेत्रमा गोही, एक सिंगे गैंडादेखि पाटेबाघसम्मका खतरनाक वन्यजन्तुको सामना गर्नुपर्नेछ। नेपाली उद्धारकर्मीले ज्यानको प्रवाह नगरी यी सबैको सामना गरिरहेका छन्। तर भारतीय टोली यी सबै कुराको सामना गरेर सजिलै नदीमा हामफाल्ने सम्भावना देखिँदैन।
एक उद्धारकर्मीले आफ्ना सिनियरलाई उद्धारका क्रममा नदीको बहाव र गोहीको जोखिम बढी देखिएको रिपोर्टिङ गरेका थिए।
‘हामी कोसिस गरिरहेका छौं। नेपाल प्रशासनको सहयोग छ। बोट यहीँको छ। यहाँका सुरक्षाकर्मीहरूलाई यहाँको नदीबारे हामीलाई भन्दा धेरै थाहा छ। उनीहरूबिना यो काम सम्भव छैन। संयुक्त रूपमा काम गरिरहेका छौं,’ उनले भने।
सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरी खोजी गरिरहेका छन्। यद्यपि उनीहरूले प्रयोग गरेका सोनार क्यामराले प्रष्टसँग देखाएको थिएन। भारतीय टोलीले पनि सोनार क्यामरा नै ल्याएको हो। उनीहरूले ल्याएको क्यामेराको क्षमता नेपालीले प्रयोग गरिरहेको भन्दा राम्रो छ। त्यसले नेपालको भन्दा प्रष्ट तस्बिर र भिडियो देखाउँछ। अनि उनीहरूसँग तस्बिर र भिडिओ रेकर्ड गर्ने क्षमता पनि छ।
‘हामी रेकर्ड भएका कुराहरूलाई पछि बसेर अध्ययन गर्छौं। विश्लेषण गर्छौं,’ एक उद्धारकर्मीले भने।
‘सशस्त्र प्रहरीसँग भएको सोनार वेभबेस छ। इमेज अलि कम दिन्छ। हाम्रो अलि एड्भान्स छ। तर फेरि यसको पनि केही सीमितता छ। यसलाई स्थिर पानी चाहिन्छ। अहिले करेन्ट चार देखि पाँच मिटर पर सेकेन्डको छ। यो अवस्थामा इमेज त राम्रै दिन्छ। तर पानी भित्र जानु त पर्यो। बोट नै जान सकेको छैन,’ उनले भने।
भरतपुरको आँपटारीमा रहेको सशस्त्र प्रहरीको १७ नम्बर गणका डिएसपी मनोज गुरूङ पानीको बहाव आइतबार शनिबारभन्दा उच्च भएकाले खोजी असहज बनेको बताउँछन्। खोजिएको क्षेत्रमा शंकास्पद केही नभेटिएको उनले बताए।
‘हामीले पहिले पनि सोनार क्यामेराको प्रयोग गरेर सिमलतालदेखि शिवघाटसम्म खोजी गरिसकेका थियौं। एनडिआरएफको टिमसँग हामीसँगभन्दा पनि एडभान्स सोनार क्यामेरा भएकाले फेरि सुरूबाट खोजी गरियो। घटनास्थलबाट केही मिटर छाडेर ३ किलोमिटर तल केराबारीसम्म अनि देवघाटबाट सुरू गरेर शिवघाटसम्म खोजी गरियो,’ उनले भने, ‘पानीको उच्च बहावका कारण सिमलतालदेखि केही मिटर तलसम्म अनि केराबारीभन्दा तल देवघाटसम्म खोजी गर्नसक्ने अवस्था भएन। घुमाउनेमा ठूलो वेभ छ। त्यहाँ धेरै टिक्न सकिँदैन। प्रयास गरे डुंगा नै पल्टिन सक्छ।’
उनले शंकास्पद ठाउँको भिडिओ रेकर्ड भएकाले विशेषज्ञहरूले त्यसको विश्लेषण गर्ने र सम्भावित, शंकास्पद ठाउँमा फेरि एक पटक हेरिने बताए। अझै शंका लागेमा बल्ल गोताखोरलाई पठाएर जाँच गरिने उनी बताउँछन्।
‘उनीहरूसँग हाम्रो भन्दा फरक प्रविधि छ। त्यो पनि हेरौं भनेर हेरिरहेका छौं। अरू त हामीले पनि गरिरहेका छौं। हाम्रो अन द स्पट एनलाइसिस गर्नुपर्छ। उनीहरूको रेकर्ड गरिराखेर पछि एनलाइसिस गर्न सकिन्छ,’ सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालयमा पाँच वर्ष काम गरेका डिएसपी गुरूङले भने, ‘नदीमा पानी नघटे त खोज्न गाह्रो हुन्छ। भोलि पानी घट्यो भने केराबारीबाट देवघाटसम्म पनि खोज्ने हो। सिमलतालदेखि घुमाउनेसम्म पनि खोज्छौं।’
८ वर्षअघि पृथ्वी राजमार्गको घोप्टेभिरबाट पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप त्रिशूली नदीमा खसेपछि उद्धारका लागि भनेर बंगलादेशबाट ५ जना गोताखोर मगाइएको थियो। तर उनीहरूले असोजको बेलामा पनि नदीभित्र पस्ने आँट गरेनन्। नेपाली गोताखोरले धेरै प्रयास गरेपनि घिमिरेको शव भेटिएन।
‘अहिले त नदी बढेको समय भयो। पानीको बहाव उच्च छ। पानी धमिलो पनि छ। यो अवस्थामा विदेशी गोताखोरलाई झनै गाह्रो पर्छ,’ एसपी पुरीले भने, ‘हाम्रा गोताखोरहरू नदीमा पसेर खोजिरहेका थिए। तर पनि बस भेट्न सकिएको छैन।’
उनकाअनुसार नेपालमा देशका ठूला नदीहरूमा आइपर्ने विपदमा उद्धार गर्न भनेर जनशक्ति तयार गरिएका हुन्छन्।
‘हाम्रा जनशक्ति कोशी, त्रिशूलीजस्ता ठूला नदीमा अभ्यास गरेर पोख्त भएका छन्। विदेशीले बगेको नदीमा कम अभ्यास गरेका हुन्छन्,’ उनी भन्छन्, ‘विदेशीले धेरै अभ्यास जमेको पानीमा गर्छन्। त्यसैले उच्च बहाबको नदीमा पस्न उनीहरूलाई गाह्रै हुन्छ।’
उनले भारतीय टोलीसँग नेपालमा उपलब्ध रहेको भन्दा राम्रो प्रविधि भएका कारण संयुक्तरूपमा खोजी गरिएको बताए।
असार २८ गते विहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार अहिलेसम्म १८ जना यात्रूको शव भेटिएको छ।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी।