गत साउन ३२ गते आएको थामेको हिमबाढीले क्षतिग्रस्त बनाएको एभरेष्ट ट्रेकिङ ट्रेल अन्तर्गत ठाडोकोसीदेखि युल्ङिङ (घाट) जोड्ने मार्ग बनेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको मर्मत सम्भार कोषबाट उक्त रूट बनाइएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
‘खुम्बु पासाङल्हामु गाउँपालिकाको मर्मत सम्भार कोषबाट खर्च हुने गरी विनियोजित बजेटबाट युल्ङिङ टोल विकास संस्थाको नेतृत्वमा पदमार्ग निर्माण भएको हो,’ गाउँपालिकाले भनेको छ, ‘पदमार्ग निर्माण सम्पन्न भएसँगै यात्रा सहज भएको छ।’
गत साउन ३२ गते हिमताल फुटेर थामे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुगेको थियो। थामेका १५ घर, विद्यालय, स्वास्थ्यचौकीमासमेत क्षति पुगेको थियो।
सगरमाथा आधार शिविर पुग्ने पदमार्गमा समेत क्षति पुगेकाले स्थानीयका अतिरिक्त पर्यटक आवागमनमासमेत असर पुग्ने भएपछि बाढीलगत्तै स्थानीयको सक्रियतामा रुट तयार भएको गाउँपालिकाले जनाएको छ।