गैँडाको आक्रमणबाट बर्दियामा ‘नेचर गाइड’ को मृत्यु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नम्बर ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरीको मृत्यु भएको हो।
त्यस्तै अमेरिकी नागरिकसहित दुई जना घाइते छन्। उनीहरूको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ। उनीहरू दुवै जना खतरामुक्त छन्।
अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए।
शुक्रबार बिहान अन्दाजी ८ बजे शवनलाई लिएर ३५ वर्षीय गाइड मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो।