जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता भएका छन्।
बारेकोट गाउँपालिका-६ तल्लो धुममा अविरल वर्षापछि आइतबार बिहान २:५० बजे पहिरो खस्दा मानबहादुर चलाउनेको घर पुरिएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ४७ वर्षीय चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेम कुमारी चलाउने घरसँगै पहिरोमा पुरिएका छन्।
उक्त घरमा चार जना थिए। मानबहादुरकी छोरी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल छिन्। उनी पहिरो आउनुअघि नै घरबाट निस्किएको प्रहरीले जनाएको छ।
अहिले पहिरोमा पुरिएका चलाउने दम्पत्तीलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पानी परिरहेका कारण उद्धारमा केही कठिनाइ भएको पनि बताइएको छ।
उद्धारका लागि ४ जना प्रहरी टोली र स्थानीय जुटेका छन्।