साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।
त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षतबिक्षत छ।
चौकीडाँडामा करिब १५० मिटर सडक पूरै खोलाले कटान गरेको छ। बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन्।
झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदैछ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसाना नरनेगरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुङ्गा मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन्।
सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडौंको नागढुङ्गा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्।
बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौँबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुङ्गा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौँबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताए।
'टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिवासको बाटो जान पाउँदा बर्दिवास पुग्न पाँच घण्टा जति लाग्थ्यो। नागढुङ्गाबाट मुग्लिन निस्किएर बर्दिवास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ,' चालक राईले भने, 'पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्ने बाध्यता छ।'
चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ। लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन्।
सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वीराजमार्गमा दसैँको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो।
सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ।
सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्यमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।
पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए।
'राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ। त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ,' शाहीले भने।
ठाउँठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ। त्यसमाथि चालकहरूले लेन अनुशासन पालना नगर्दा झन धेरै जाम भइरहेको छ। पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दसैँको सवारी आवागमन सञ्चालन गराउनसक्ने अवस्था नरहेको भन्दै नागरिक अगुवाहरूले थुप्रै सुझाव दिइरहेका छन्।
सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको सुझाव छ। चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिएका छन्।