आज घटस्थापना। दसैं सुरू भएसँगै काठमाडौं उपत्यका छाडेर बाहिरिनेहरूको बसपाकर्कमा भिड लाग्न थालेको छ।
गत साता परेको वर्षाका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बिपी राजमार्ग लगायतमा क्षति पुगेको छ। सडकहरू सरकारले मर्मत गर्ने बताइरहेको छ।
बिपी राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारी चाप बढ्दो छ।
सरकारले बाढीपहिरोका कारण अवरूद्ध सडक खुलाएर दसैँमा नागरिहरूलाई निर्वाध रूपमा घर घर जाने वातावरण सिर्जना गर्ने भनेको छ।
काठमाडौंको नागढुंगा नाका हुँदै बाहिरिने सवारी साधन बढेकाले नागढुंगादेखि चितवनको मुग्लिन-नारायणगढसम्मै सवारी चाप छ।
प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले नागढुंगा-नौबिसे खण्डमा अहिले निर्वाध रूपमा सवारी साधन दुईतर्फी नै सञ्चालनमा रहेको बताए।
झ्याप्ले खोलाको पहिरो पन्छाइसकेपछि दुईतर्फी नै यातायात सञ्चालन भएको र बाटोमा कुनै पनि किसिमको अवरोध नरहेको उनले बताए।
बिहीबार दिउँसो १ बजेसम्मको समयमा काठमाडौं छिर्नेभन्दा काठमाडौंबाट बाहिरिने सवारी साधन धेरै रहेको बताए। 'सवारीको चाप बढी नै छ। तर त्यस्तो धेरै बेरसम्म पर्खिनुपर्ने जाम नै भएको छैन,' उनले भने।
सडकमा केही अवरोध आइहालेको खण्डमा पहिरो पन्छाइहाल्ने गरी व्यवस्था गरिएको पनि उनले बताए। 'सडक आयोजनादेखि स्थानीय तहसँग समन्वय गरी जेसिबीलगायत ठाउँ-ठाउँमा राखेका छौं। पहिरो खसिहाले तत्काल पन्छाउँछौं,' उनले भने।
त्यस्तै ठाउँ-ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको र खतरा रहेका ठाउँहरूमा ट्राफिक चिह्नहरू राखिएको उनले जानकारी दिए। 'उताबाट आएका र यताबाट गएका गाडीहरू निर्वाध रूपले सञ्चालन भइरहेका छन्,' उनले भने।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले धादिङतर्फको राजमार्गमा बिहीबार दिउँसो १ बजेसम्म कुनै पनि किसिमको अवरोध नरहेको बताए। उनले सानातिना पहिराले लामो समयसम्म जाममा बस्नुपर्ने स्थिति आउन नदिने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
'अवरोध भइहाल्यो भने पन्छाउनका लागि जेसिबीहरू तयारी अवस्थामा राखेका छौं। स्थानीय तहहरूसँग समन्वय गरिएको छ। प्रहरी युनिटहरू पनि खटिएका छन्, रोकेर बस्नुपर्ने अवस्था आउँदैन,' उनले भने।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले पृथ्वी राजमार्गको मौवाखोलादेखि यता चितवनका कुनै पनि ठाउँमा अहिले सडकमा अवरोध नरहेको बताए।
नारायणगढ-मुग्लिन सडकको ९ किलोमा भने बिहान केहीबेर मर्मत सम्भारका क्रममा सवारी साधन एकतर्फी भए पनि अहिले दुइतर्फी नै निर्वाध सञ्चालनमा रहेको उनको भनाइ छ। 'कृष्णभीरमा 'वान वे' छ। धेरै बेर जाममा बस्नुपर्ने छैन। अन्य ठाउँमा मर्मत भइरहेका छन्,' उनले भने।
सानोतिनो पहिरोका कारण सडक अवरूद्ध हुने अवस्था नरहेको उनले बताए।
पहिरो आएको खण्डमा तत्काल पन्छाउन सडक आयोजना र स्थानीय तहसँगको समन्वयमा मेसिन ठाउँ-ठाउँमा राखिएको र त्यही अनुसारको जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले बताए।
'तत्काल पहिरो गइहाल्यो भने अति खतराको समयमा काम गर्न सक्ने अवस्था रहँदैन। अनुकूल हुनेबित्तिकै काम गर्न लाग्न समयभित्रै जुनसुकै ठाउँमा क्लियर गर्छौं,' उनले भने।
अघिल्लो साता मुग्लिन-नारायणगण सडकदेखि मौवाखोलासम्म ठाउँ-ठाउँमा गएको पहिरो कम समयमा पन्छाएर सवारी आवातजावत सामान्य बनाएको पनि उनले बताए।
विपद व्यवस्थापन समितिले २०-२५ ठाउँमा साना ठूला पहिरो जाने जोखिमस्थल भनेर पहिचान गरेको र ती स्थानमा विशेष निगरानी भइरहने उनले बताए।