जंगली हात्ती गोबिन्देको आक्रमणबाट हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीको मृत्यु भएको छ।
साँझ ७ बजेतिर प्रजनन केन्द्रतिर गइरहेको समयमा हात्तीका पछुवा ३६ वर्षीय जद्दु सिंह थारुलाई जंगली हात्तीले लखेटेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले थारुको घटनास्थलमै मृत्यु भएको बताए।
प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार हात्तीले थारुलाई भेटाएपछि घिसारेर हात, खुट्टा भाँचिदिएको बताए।
सर्लाहीको हरिपुर–६ घर भएका जद्दु सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा हुन्।
‘साँझतिर बाहिर गएर प्रजनन केन्द्रतिर फर्किँदै गर्दा जंगली हात्तीले भेट्टाएर लखेटेछ। भाग्दा भाग्दै भेट्टाइहाल्यो। घिसारेर हात, खुट्टा भाँचिदियो। जद्दुको मृत्यु नै भयो,’ चौधरीले भने।
जंगली हात्ती गोबिन्दे प्रायः प्रजनन केन्द्र आसपासमै रहन्छ।