दसैं लागेसँगै बजारमा किनमेल गर्नेहरूको चहलपहल सुरू भएको छ।
काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैंको लागि किनमेल गर्नहरू पुगेका छन्। तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको बताउने गरेका छन्।
बजारलाई दसैं नलागेको व्यापारीहरूको प्रतिक्रिया छ।
उपत्यकाका मुख्य बजार असन, न्यूरोड,महाबौद्ध,भोटाहिटी लगायतमा सामान किनमेल गर्नेहरूको भिड देखिन्छ। उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको बताएका छन्।
चाडपर्वका बेला जुत्ता, चप्पल, कपडा लगायतका समानको मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्। असनलगायत बजारमा भेटिएका उपभोक्ताले विगतका तुलनामा सामान महँगो परेको प्रतिक्रिया दिए।
व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको बताउने गरेका छन्।
काठमाडौंको रानीवनबाट असनमा सामान किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा सामान धेरै महँगो भएको बताए।
पसलमा मूल्यसूची नहुँदा व्यापारीहरूले जति भने पनि हुने अवस्था देखिएको उनले बताए।
पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको र ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था रहेको जानकारी दिए।
काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङले पनि विगतको तुलनामा बजारमा सामानको मूल्य दुई सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन्।
बसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृति सेढाइँले पनि सामान्य समयको भन्दा दसैंमा सामान महँगो परेको बताइन्। यद्यपि काठमाडौंका अन्य बजारभन्दा असनमा सस्तो रहेको उनको भनाइ थियो।
भक्तपुरबाट न्यूरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिइन्। विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको उनको भनाइ रह्यो। एक हजार रुपैयाँभन्दा तलको मूल्यमा कुनै पनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने उनले बताइन्।
अधिकांश उपभोक्ताले बजार महँगो भएकाले यो वर्षको दसैंमा खर्च धेरै हुने प्रतिक्रिया दिए।
(न्युज एजेन्सी नेपाल)