छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ।
मंसिर १२ देखि १५ गतेसम्म हुने सम्मेलनमा विभिन्न देशका ५ सयदेखि ८ सय जना प्रतिनिधि सहभागी हुने त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागले जनाएको छ।
शुक्रबार ललितपुरमा भएको पत्रकार सम्मेलनमा विभागका प्रमुख डाक्टर योगेन्द्रबहादुर गुरूङले एसियाका विभिन्न देशका जनसंख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए।
उनले विश्वको जनसाङ्ख्यिक परिदृष्य, यसको राजनीतिक सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा आधारित रहेर कार्यपत्रहरू प्रस्तुत हुने बताए।
चार दिनसम्म चल्ने सम्मेलनमा करिब ५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
चार दिनसम्म चल्ने सम्मेलनमा अहिलेसम्म दक्षिण एसिया बाहेकका देशबाट १०० जना, दक्षिण एसियाबाट १७० जना र नेपालबाट १ सय जना सहभागीले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
सम्मेलनमा नेपालको जनसंख्या वृद्धिदर, प्रजननदर लगायत विषयमा पनि छलफल हुनेछ।