विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको आरोपमा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।
मद्धति सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुवरलाई नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।
तीन जना कर्मचारीले अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको भेटिएको हो।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरूलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो।
यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दु:ख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको छ।
यसैगरी सिमानामा आवतजावत गर्ने व्यक्तिहरूलाई दु:ख हैरानी दिनेतर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरूले सादा पोशाकमा खटिएर अनुगमन समेत गरिरहेका छन्।