कञ्चनपुरमा मरेको वयस्क हात्ती फेला परेको छ।
शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला परेको हो।
निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरका अनुसार निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला पारेको हो।
‘सुरूमा हेर्दा हात्ती गर्भवती भएको आशङ्का थियो। बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भिणी नभएको बताएका छन्, मृत्यु कारण रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने।
उनले चोरी सिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए।
‘बस्ती भन्दा ४५ किलोमिटर टाँड हात्ती मरेको भेटिएको छ। शरीरमा पनि घाउचोट छैन त्यसैले हात्ती मारिएको हो भन्न सकिने अवस्था छैन,’ उनले भने।
प्राकृतिक ढंगले हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए।
‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ,’ उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ।’
जेसिबीले खाल्डो खनेर सेतो लुगाले ओढाएर अबिर लगाएर दाहसंस्कार गर्ने तयारी भइरहेको उनले बताए।
हिजो नै हात्ती मरेको हुन सक्ने आशङ्का गरिएको छ।