खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि र नागरिकहरूलाई ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग गर्न आग्रह गरेका छन्।
आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी लिने क्रममा मन्त्री यादवले बाढीले थुप्रै खानेपानी योजनाहरूमा क्षति पुर्याएको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरूद्ध भएको जानकारी दिँदै मानवीयताका आधारमा पानीको संकटमा परेका ललितपुरबासीलाई सहयोग गर्न दक्षिणकालीबासीलाई आग्रह गरेका हुन्।
‘कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नुपर्छ,’ उनले भने।
मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
‘तपाईंहरूका समस्या के छन्? म समाधानका लागि पूर्ण प्रयास गर्नेछु। तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने।
उनले हालको विपद्मा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताए।
‘अविरल वर्षाले देशका २१ जिल्लामा ठूलो क्षति पुर्याएको छ। अहिले हामी सबै विपद्को सामना गर्दैछौं, नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन्। तपाईंसँग पानीको स्रोत छ, त्यसैले तपाईंकै सहयोगले धेरैको जीवन सहज हुनेछ,’ उनले भने।
यस्तै, मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्याएको क्षतिको विवरण संकलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिए।
‘म मन्त्रिपरिषद्को निर्णयमार्फत् आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु। क्षतिको मूल्यांकन चाँडो गरौं, म समस्या समाधानको पहल गरिरहनेछु,’ उनले भने।
फर्पिङ र दक्षिणकाली क्षेत्रमा अवलोकन भ्रमण गर्दै मन्त्री यादवले बाढीले पुर्याएको क्षति र पानी आपूर्तिका चुनौतीहरूको निरीक्षण गरे।
उनले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल गरे।