खोपानीमन्त्री प्रदीप यादवले आज दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ।
आज दिनभरको प्रयासपछि भैँसीपाटीको ट्याङ्कीमा पनि पानी झर्न थालेको काठमाडौं उपत्यका लिमिटेड (केयुकेएल) भैंसीपाटीले जनाएको छ।
दक्षिणकाली नगरपालिका र स्थानीयहरूसँग गरिएका कतिपय प्रतिबद्धता पूरा गर्न भने बाँकी नै रहेको र दसैंलगत्तै गर्नुपर्ने केयुकेएलले जनाएको छ।
मन्त्री यादवको आग्रहसँगै उक्त नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौं उपत्यका लिमिटेड (केयुकेएल) भैंसीपाटीको खानेपानी टयाङ्कीमा पानी अइपुगेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्यले जानकारी दिइन्।
उनले भनिन्,‘तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने पूर्णिमाको पर्सिपल्ट पुन: बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेएल बसेर के के काम गर्न सकिन्छ सो विषयमा सम्झौता पत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएको छ।’
ललितपुरमा रहेको काठमाडौं उपत्यका लिमिटेड (केयुकेएल) भैंसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरणको कार्य सुरू गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए।