गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ।
काठमाडौं उपत्यका, काभ्रे, धादिङ, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लामा बाढी-पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको थियो। यस्तै कोशी प्रदेशका विभिन्न ठाउँमा पनि क्षति भएको थियो।
बाढी पहिरोले क्षति पुर्याएका ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यमा जुटिरहेका छन्।
यस्तै विभिन्न ठाउँमा अस्थायी पुलहरू समेत बनाउन सेना, प्रहरीका टोली खटिएका छन्।
सेनाले पाँचथरबाट ताप्लेजुङ जिल्ला जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा अस्थायी पुल बनाएको छ। त्यहाँ रहेको बेलीब्रिज बाढीले बगाएको थियो। सेनाको रणशेर गण, अन्य सुरक्षा निकाय र स्थानीय पालिकाको सहयोगमा अस्थायी पुल बनाएर आवातजावत नियमित तुल्याइएको हो।
त्यस्तै काभ्रेको भ्याकुरेस्थित रोशी खोलामा पनि सुरक्षाकर्मीले अस्थायी पुल निर्माण गरी आवतजावतमा सहजीकरण गरेका छन्।
तस्बिरहरू:
पाँचथरबाट ताप्लेजुङ जिल्ला जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा बनेको अस्थायी पुलका तस्बिरहरू। तस्बिर स्रोत: नेपाली सेना।
पैदल यात्रा सहजिकरणको लागि भ्याकुरे खोलामा काठको फड्के बनाउने क्रममा नेपाल प्रहरी। तस्बिर: नेपाल प्रहरी