सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढी खेतमा धानखेती गरेका थिए। त्यसमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान लगाएका थिए।
अघिल्ला वर्षहरूमा उनी दसैँ अघिनै धान भित्र्याइसक्थे। यसपालि पनि दसैँ अघि नै धान काटेर भित्र्याइसक्ने उनको योजना थियो।
दसैँ अघि नै भित्र्याएको धान केही बेचेर आएको पैसाले उनी दसैँ मनाउने योजनामा थिए। हरेक वर्ष त्यसरी नै दसैँ मनाउँदै आएका थिए उनले।
तर यसपालि उनको योजना बाढीमा बग्यो।
मध्य असोजदेखि परेको पानीले लहलह धानका बाला झुलेका खेत बाढीमा डुब्यो। बाढीले १० कठ्ठा खेतमा लगाएको धान सखाप पारिदिएपछि दसैँ मात्रै मनाउने होइन वर्षभरि के खाने भन्ने कुराले पिरोलिएका छन्।
'बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ। अब दसैँ कसरी मनाउने थाहा छैन,' उनल भने।
भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले पनि दुई बिघामा धानखेती गर्नुभएको थिए।
उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए।
'बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो। यसपटक दसैँ दशा भएर आयो,' उनले भने।
बाढीका कारण जिल्लाभरि धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो छ। जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क संकलन जारी रहेको छ।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए।
'क्षतिको विवरण संकलनकै क्रममा छौं। विस्तृत तथ्यांक आउन बाँकी नै छ,' उनले भने। (राससको सहयोगमा)