काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा-सुविधा बापत आउने भत्ता बाढी-पहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन्।
उनले आफ्नो सेवासुविधा बापत ३ वर्षमा आउने १५ लाख रुपैयाँ बाढी-पहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन्।
आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने सेवासुविधा बाढी पहिरोले क्षति पुर्याएको पालिकालाई दिने घोषणा गरेको नगरप्रमुख खरेलले जानकारी दिए।
'काभ्रेपलाञ्चोक जिल्लामा असोज १० देखि १२ गतेसम्म पानी पर्दा धेरै पालिकामा भैतिक तथा मानवीय क्षति व्यहोर्नु परेको छ, त्यसैले सहयोग गर्ने निर्णय गरेको हो,' उनले भने, 'थोरै भएपनि सहयोग पुगोस् पुग्छ भन्ने आशा छ।'
बाढी-पहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये १० वटामा बढी पहिरोले सोमबार बिहानसम्म ७८ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।