राप्ती नदीको पुलबाट हाम फालेका एक युवकको तीन घन्टापछि उद्धार भएको छ।
गढवा गाउँपालिका–२ महदेवास्थित पुलबाट सोमबार बिहान राप्ती गाउँपालिका–७ अननपुरका ३३ वर्षीय आशाराम चौधरीले हाम फालेका थिए।
आशारामका भाइ खुसीरामले दाजुले हाम फालेको देखेपछि नजिकैको प्रहरी र स्थानीयलाई गुहारेका थिए।
भाइ खुसीरामले दाजु आशारामले पुलबाट बिहान साढे ६ बजेतिर हाम फालेको सूचनापछि नजिकैको प्रहरी चौकी गोवरडियाबाट प्रहरी उद्धारको लागि खटिएको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय गढवाबाट पनि प्रहरी तत्काल खटिएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा बिहान सवा ९ बजेतिर उनको सकुशल उद्धार भएको इप्रका गढवाकी प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्की खड्काले बताइन्।
आशारामको राप्ती गाउँपालिका–६ बगारपुरस्थित घाटबाट उद्धार भएको प्रहरीले जानकारी दिएको छ।
जुन घटनास्थलदेखि झन्डै पाँच सय मिटर दक्षिणमा पर्ने गर्छ।
‘मर्नका लागि भन्दै हाम फाले पनि आशाराम पौडिएर ज्यान जोगाएको देखिन्छ,’ प्रहरी निरीक्षक कार्कीले भनिन्, ‘उनी पौडिएर झन्डै पाँच-सात सय मिटर दक्षिण एउटा सुरक्षित ठाउँमा पुगेर बसेका थिए। त्यहाँ पानीले घेरिएको बगर जस्तो ठाउँमा बसेको फेला पारेपछि प्रहरीले उद्धार गरेको हो।’
झन्डै ३ घन्टापछि सकुशल उद्धार गरिएका आशारामले हामफाल्नुको कारण खुलाएका छैनन्।
‘उहाँ किन हाम फालेको भनेर सोध्दा पटक्कै बोल्दै बोल्नु भएन,’ उनले भनिन्, ‘अहिले उहाँलाई लमही अस्पतालमा राखेर उपचार भइरहेको छ।’
अहिले उपचार चलिरहेको हुँदा पछि थप सोधपुछ गरिने कार्कीले बताइन्।