चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जंगलमा सोमबार बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अर्को मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनापछि घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो।
स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ।
त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डिएसपी रिजालले जानकारी दिए।
ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैंडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको समान्य घाइते छिन्।
उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ।