काठमाडौं उपत्यकाको बाढी प्रभावित सुकुम्बासीलाई लत्ताकपडा वितरण गरिएको छ।
अखिल कान्तिकारी केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटासहित चार जनाको टिमले सुकुम्बासीलाई नि:शुल्क लत्ताकपडा वितरण गरिरहेका छन्।
उनीहरूको टिमले शनिबारदेखि उपत्यकाको विभिन्न ठाउँमा बस्दै आएका सुकुम्बासीलाई लत्ताकपडा वितरण गरिरहेका हुन्। बस्ती नै डुबानमा परेपछि अलपत्र परेका सुकुम्बासी लत्ता कपडा वितरण गरिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए।
उनका अनुसार शनिबार टेकुमुनि बसिरहेका सुकुम्बासी बस्तिमा १ हजार थान, आइतबार शंखमुलमा बस्नेलाई ५ सय थान बाँडिएको थियो।
'सोमबार ४ बजेदेखि थापाथलीका सुकुम्बासीलाई ५ हजार थान कपडा बाँड्दैछौं,' उपाध्यक्ष सापकोटले भने, '२४० घरधुरी रहेको जानकारी प्राप्त भएको छ, त्यही अनुसारले तयारी गरेका छौं।'
नदी किनाराका बस्तिमा डुबानमा परेर एकसरो लुगा पनि निकाल्न नपाएको सामाजिक सञ्जाल र समाचारमा देखेपछि उपाध्यक्ष सापकोटासहित बाबुराम नेपाली, सौरभ दवाडी र प्रभु अधिकारीले व्यक्तिगत २०/२० हजार रूपैयाँको कपडा किनेर सहयोगको सुरूआत गरेका उनी बताउँछन्।
आफूले सहयोग गर्दै गरेको सामाजिक सञ्जालमा राखेपछि अरू साथीहरू पनि जोडिँदै गएका छन्। कतिले लुगा किनेर ल्याइदिएका छन् भने कतिले आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ।
असोज १० देखि १२ गतेसम्म परेको वर्षाले बागमती नदी आसपासका बस्ती डुबानमा परेपछि उनको टिमले तीनदिनसम्म खाना खुवाएको थियो। यसमा आफूहरूले व्यक्तिगत स्वइच्छाले सहयोग गरिरहेको उनको दावी छ।
'हामी साथी-साथी मिलेर गरेका हौ, कुनै पनि संघसंस्था वा पार्टीको सहयोगमा होइन,' उनले भने।