गृहमन्त्री रमेश लेखकले काभ्रेको बाढी-पहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।
साेमबार बिहान गृहमन्त्री रमेश लेखकले बाढी पहिराेबाट क्षतिग्रस्त काभ्रेकाे पनौती नगरपालिका-१२ भूमेडाँडा र बेथानचाेक गाउँपालिका-४ चलालकाे निरीक्षण गरेका हुन्।
निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय काभ्रेमा बैठक समेत बसेको थियो। उनले बैठकमा विपत्तिको बेलामा संघीयता र स्थानीय तहको आवश्यकता महसुस भएको बताए।
‘भारी वर्षाबाट सिर्जित बाढी-पहिरोबाट जन-धनकाे ठूलाे क्षति भएकाे छ। संघीयता र स्थानीय तहकाे आवश्यकता विपत्तका बेला महसुस भएकाे छ। संघीय, प्रदेश र स्थानीय तहकाे सरकार मिलेर काम गर्दा विपत्तिकाे सामना गर्न सजिलो हुन्छ। तीन वटै सरकारकाे विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ। तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
उनले पीडित परिवारलाई राहत उपलब्ध गराउने आश्वासन पनि दिएका थिए।
‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खाेजी र उद्धारकाे काम जारी रहेकाे भन्दै अब राहतकाे व्यवस्था गराउने अवस्थामा छाैँ,’ उनले भने।
बाढी पहिराेबाट काभ्रेमा ७८ जनाकाे मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन्। घाइते मध्ये १८ जनाकाे उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन्।
मृतकका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएकाे भन्दै घरबार विहीनहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताकाे २५ हजार दिने प्रक्रिया अघि बढिसकेको छ।
स्थानीय तहले लाभग्राही पहिचान गरेकाे तीन दिनमा पहिलाे किस्ता उपलब्ध गराउने र घाइतेकाे नि:शुल्क उपचार हुने उनले बताए।
‘काभ्रेका बाढी-पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घाेषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ। सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ,’ लेखकले बैठकमा भने, ‘बाढी-पहिराे प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेकाे छ तर सरकारले काम नगरेकाे भन्ने हुँदैन। सरकार भनेकै यही हाे।’