अनेरास्ववियुले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ध्यानाकर्षण गराएको छ।
सोमबार अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष निराजन थापाले नदी किनारामा रहेका बस्तीमा बाढी पसिसकेपछि पनि उनीहरूलाई बेवास्ता गरिनु आपत्तिजनक भन्दै काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई ध्यानाकर्षण गराएका हुन्।
'काठमाडौं महानगरपालिका-१४ बल्खु, वडा नम्बर- ११ त्रिपुरेश्वर र थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा अविरल वर्षाबाट प्रभावित हुँदा पनि जिल्ला विपद् व्यवस्थापन समिति, महानगर विपद व्यवस्थापन समिति, वडा स्तरीय विपद व्यवस्थापन समिति लगायत सबै संयन्त्र अहिलेसम्म बेखबर भई आम नागरिकलाई बेवास्ता गरिनु आपत्तिजनक छ,' ध्यानाकर्षण पत्रमा भनिएको छ।
सुकुम्बासी बस्तीमा विपदका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउन सुकुम्बासी बासिन्दाले सहयोग माग्दा पनि महानगरले बेवास्ता गरेको उनीहरूको आरोप छ। त्यसैले अनावश्यक वस्तु नहटाउँदा सुकुम्बासी बस्तीमा महामारी फैलिने त्रास भएको बताइएको छ।
त्यस्तै, बल्खु, थापाथली, त्रिपुरेश्वर लगायत सुकुम्बासी बस्तीमा अविरल वर्षाका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाइदिन ध्यानाकर्षण समेत गरिएको छ।