बाँकेमा लागुऔषधका कारोबारीलाई छुटाइदिने आश्वासनमा परिवारसँग रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका-१५ का राजेन्द्रकुमार गुप्तालाई पक्राउ गरेको एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
उनले लागुऔषधका कारोबारीलाई छुटाइदिने भन्दै परिवारसँग तीन लाख ७० हजार भारतीय रुपैयाँ रकम लिएको खुलेको हो। त्यस रकममध्ये एक लाख ५० हजार भारतीय रुपैयाँ आइतबारमात्रै फिर्ता गरेका थिए।
गत असार १३ गते नेपालगन्ज-१५ जमुना नाकामा चेकिङ गर्नेक्रममा भे ७ प ६६८९ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट यूपी ४० एल १४९९ नम्बरको मोटरसाइकलमा सवार रहेका दुई जनालाई पक्राउ गरेको थियो।
नेपाली नम्बर प्लेटको मोटरसाइकल चलाक सुर्खेतको गुर्भाकोट नगरपालिका-६ का २९ वर्षीय प्रकाश केसी पक्राउ परेका थिए। उनले आफ्नो मलद्वारमा लागुऔषध ८ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर लुकाएर ल्याएका थिए।
घटनास्थलबाट भागेका भारतीय नम्बर प्लेटका चालक दीपक श्रीवास्तवलाई पछि नेपालगञ्ज-१० गणेशमान चोकबाट पक्राउ गरेको थियो। प्रहरीले दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।
त्यसैबीच गुप्ताले भारतीय नागरिक समेत रहेका दीपक श्रीवास्तवलाई छुटाइदिने भन्दै रकम असुली गरेको खुलेको हो।