काठमाडौंको कीर्तिपुरबाट ६ दिनदेखि बेपत्ता रहेका प्रह्लाद महर्जनको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।
असोज १७ गते बिहान साढे ८ बजे कीर्तिपुर नगरपालिका-७ नयाँ बजार बस्ने ५० वर्षीय प्रह्लाद महर्जन बेपत्ता भएका थिए। तिन्सी खोला किनारमा काम गर्नेक्रममा बारीको डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए।
उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नबराज अधिकारीले जानकारी दिए।
‘खोजी गर्नका लागि विभिन्न विधि प्रक्रिया अपनाएका छौं। आज हामीले तालिम प्राप्त कुकुर झिकाएर खोजी गरिरहेका छौं,’ उनले भने।
उनको खोजी गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटिएको थियो।
यसरी खोजीकै क्रममा नेपाल प्रहरी केनाइन शाखाबाट डिएसपी बासुदेव सुवेदीको कमाण्डमा दुई वटा कुकुरसहितको टोली तिन्सी खोलामा पुगेको हो।
त्यस्तै परिसरबाट पनि प्रहरी निरीक्षक किरण राउतको कमाण्डमा पाँच जनाको टोलीले खोजी गरिरहेको हो।
असोज १७ गते नै कीर्तिपुर-४ का ६२ वर्षीय सहदेव लामाको ढल खोल्नेक्रममा लडेर मृत्यु भएको थियो।
तस्बिरहरू: