बबई नदीबाट तुलसीपुरमा खानेपानी ल्याउन अहिले धमाधम पाइप बिच्छाउने काम सुरू भएको छ।
अहिले ११ किलोमिटर पाइप बिच्छाउने काम सकिएको छ।
भिमेश्वर ड्रिलिङ एण्ड कम्पनीले बुटवलले टेन्डर पारेपछि २०७९ असार २९ गते काम गर्ने गरी सम्झौता गरेको थियो। साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको ६० करोडको लागतमा टेन्डर आह्वान भएपनि भिमेश्वरले झन्डै ५७ करोडमा टेन्डर सकारेको थियो।
लगत्तै काम थालेको उक्त कम्पनीले हालसम्म ६० प्रतिशत काम पुरा गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कोषाध्यक्ष भोला थापाले बताए।
बबई नदीमार्फत लिफ्टिङ गरी ल्याइएको पानीको मुख्य ट्रान्जिट बजार आइपुगेपछि तुलसीपुरको ट्राफिक कार्यालय नजिकको ट्यांकीमार्फत गरिने भएको छ। तुलसीपुरको बसपार्क र तुलसीपुरको मोतिपुरमा वितरण लाइनको काम सुरू भइसकेको छ।
बबईको पानी लिफ्टिङ गरेपछि थप पाँच वटा भूमिगत ट्यांकी र चार वटा आकासे ट्यांकी निर्माण गरिनेछन्।
तुलसीपुर–६ इन्द्रनगर कवर्डहल नजिक चार लाख घन मिटर क्षमताको, तुलसीपुर–७ मोतिपुरमा दुई लाख २५ हजार घनमिटरको, तुलसीपुर–६ शिखर कोलनीमा साढे चार लाख घनमिटरको, तुलसीपुर–७ खर्चमा पनि साढे चार लाख घनमिटर र तुलसीपुर–१२ कचिलामा पाँच लाख घनमिटर क्षमताको भूमिगत ट्यांकी निर्माण गरिनेछ।
हालसम्म कचिला र तुलसीपुर – ६ सन्तनिरंकारी नजिकैको साढे चार लाख घनमिटर क्षमताको ट्यांकी निर्माणको काम पुरा भइसकेको छ।
ट्राफिक कार्यालय नजिकको ट्यांकी पनि ८० प्रतिशत निर्माणको काम पुरा भइसकेको छ। तर, ट्राफिक कार्यालय नजिकको जग्गा व्यक्तिको निजी सम्पत्ति परेको हुँदा विवाद खडा भएको छ।
त्यस्तै, तुलसीपुर–५ स्थित खानेपानी कार्यालय परिसरमा तीन लाख घनमिटरको एउटा ट्यांकी र तुलसीपुर–६ डुम्री गाउँमा पनि साढे ४ लाख घनमिटर क्षमताको ट्यांकी निर्माण गरिने भएको छ।
सम्झौता अनुसार निर्माण कम्पनी भिमेश्वर ड्रिलिङ एण्ड कम्पनीले बुटवलले आगामी असार २८ गते भित्रै काम सम्पन्न गरिसक्ने सर्तमा काम सकारेको थियो। अब भने अनुसार धमाधम काम भएमा प्रति सेकेन्ड एक सय लिटर पानी बबई नदीबाट तुलसीपुर बजारमा उपलब्ध हुनेछ। त्यसो भएमा थप पाँच हजार उपभोक्तालाई सहज रूपमा पानी उपलब्ध गराउन सहज हुने आशा गरिएको छ।
यो आयोजनाले तुलसीपुर बजारको थप १५ वर्षको चाप थेग्ने अनुमान गरिएको खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए।